बहराइच जेलमा नेपाली

आफन्त भेट्न जाँदैनन्, धरौटी बुझाउन नसक्दा जेलमै बास

नेपालगञ्ज – दाङकी शान्ता बिक उपचारका लागि भारत जाँदै थिइन्। नाकामा केहीबेर रोकिएको बेला अपरिचित व्यक्तिले एउटा झोला रुपैडिहासम्म पुर्‍याइदिन आग्रह गर्‍यो।

उसले शान्तालाई रुपैडिहासम्म झोला पुर्‍याइदिए बापत दुई हजार रुपैयाँ दिने बतायो। बिरामी मान्छे, उपचारका लागि भारत जान थालेको बेलामा एउटा झोला नाका पार गराइदिँदा दुई हजार पाउने भएपछि शान्ताले दायाँ–बायाँ केही सोचिनन्।

नाका पार भएपछि रुपैडिहामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले झोला जाँच गर्‍यो। झोलामा तीन किलो चरेश फेला पर्‍यो। एसएसबीले शान्तालाई भारतीय प्रहरीको जिम्मा लगायो। प्रहरीले बहराइच जेल पुर्‍यायो। अदालतले शान्तालाई सात वर्षको सजाय तोक्यो।

दुई हजारको ‘लोभ’ मा अपरिचित व्यक्तिले दिएको झोला समात्दा शान्ता जेल पुगिन्। पाँच वर्ष जेल बसेपछि इलाहावाद हाइकोर्टले शान्ताको पक्षमा फैसला गर्‍यो। एक लाख रुपैयाँ धरौटी लिएर छोडिदिन अदालतले आदेश गर्‍यो। शान्तासँग एक लाख रुपैयाँ कहाँबाट हुनु ? जेलमा बस्न बाध्यता भयो। यो कुरा बहराइचका समाजसेवी अजिम मिर्जाले थाहा पाए। केही व्यक्तिसँग सहयोग जुटाएर शान्तालाई जेलबाट निकाल्न सहयोग गरे।

करिब एक वर्षअघि शान्ता बन्दी जीवनबाट मुक्त भइन्। सन् २०११ डिसेम्बार १२ तारिखमा शान्ता रुपैडिहाबाट पक्राउ परेकी थिइन्।

यो त एउटा उदाहरण मात्रै हो। केही पैसाको लोभले ‘चरेश’ समात्न पुगेका एक दर्जन महिला अहिले पनि भारतको बहराइच जेलमा रहेका छन्। डेपुटी जेलर सेवन्दु त्रिपाठीका अनुसार बहराइच जेलमा अहिले ५४ जना नेपाली रहेका छन्। त्यसमध्येमा १२ जना महिला छन्। जेलमा परेका अधिकांश बन्दी लागुऔषधका छन्।

बहराइच जेलमा रहेकामध्ये आधा दर्जनलाई शान्ता जसरी केही धरौटी तिरेर घर जाने बाटो खुल्ला भइसकेको छ। तर, उनीहरुले पैसा तिर्न सकेका छैनन्। पैसा तिर्न नसकेपछि जेल प्रशासनले चाहेर पनि घर पठाउन सकेको छैन। त्यसमा रुकुमकी कर्मकुमारी र सल्यानकी सुनिता पुन पनि पर्छन्। ‘व्यक्ति जमानी र धरौटी रकम’ तिर्न नसक्दा उनीहरु जेलमै बस्न बाध्य भएका छन्।

विशेष गरेर पहाडी जिल्लाका महिलाहरु केही पैसाको लोभले चरेश बोक्दा बहराइच जेलमा पुग्ने गर्दछन्। जेलमा पुगेका महिला र कतिपय पुरुषका आफन्तहरु भेट्नसम्म जादैनन्। जेलमा भेट्न जाँदा जेल प्रशासनले थुनिदिन्छ कि भन्ने डर रहने गरेको छ। आफन्तहरुसमेत भेट्न नआउँदा जेलमा बसेकाहरु अदालतले धरौटीमा छोड्न आदेश दिँदा पनि पैसा नभएर जेलमै बस्ने गरेको जेल प्रशासनले जनाएको छ। जेलमा परेका र आफन्तहरु भेट्नसम्म नगएकाहरुलाई अदालतले १० हजार धरौटी माग्दा पनि ठूलो हुने गरेको छ।

बहराइच जेलमा पुग्ने अधिकांश नेपालगञ्ज नाकाबाट पक्राउ परेका छन्। यो नाकालाई लागुऔषध कारोबारको प्रमुख नाका मान्ने गरिन्छ। नेपालबाट चरेश र अफिम भारत जाने तथा भारतबाट ब्राउनसुगर, नाइट्रोभेट, कोरेक्स भित्रिने गर्दछ।

बहराइच जेलमा नेपाली र बाँकेको नेपालगञ्जमा रहेको कारागारमा थुनिएका भारतीयहरु अधिकांश लागुऔषधिकै छन्। नेपालगञ्ज कारागारमा लागुऔषधकै बन्दी धेरै छन्। भारतीयसहित ५६ जना विदेशी बन्दी रहेका छन्।

कात्तिक १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्