कस्तो छ पूर्वी तराईको छठ? (तस्बिरसहित)

झापा – पूर्वी तराईमा छठको रौनक बर्सेनि बढ्दो क्रममा रहेको छ। पहाडि तथा मधेसी समुदायका मानिसहरुले मिलेर सूर्य भगवानको उपसना गर्दै यस वर्षको छठ पर्व मनाइरहेका छन्।

खासगरि झापामा भारतीय र नेपालीहरुले एउटै घाटमा छठ पर्व मनाइरहेका छन्। शनिबार साँझ अस्ताउँदो र आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर करिब एक साता लामो छठ पर्वको व्रत समापन गरिन्छ।

विज्ञापन

झापाका प्रमुख नदीहरु मेची, निन्दा, विरिङ, कनकाई तथा रतुवा नदीहरुमा धुमधामका साथ तराईमा बसोबास गर्नेहरुले छठ पर्व मनाइरहेका छन्।

पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा बसोबास गर्नेहरुले शनिबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्। आइतबार बिहानको उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुनेछ।

मोरङको सिंघीया, केशलिया तथा सुनसरी मोरङ सिँचाई आयोजनाको नहरको तीरमा सर्वसाधारणले छठ मनाइरहेका छन्।

सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्लपञ्चमी र षष्ठिका दिन मनाइने गरिन्छ।

व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन् जसलाई खर्ना भनिन्छ। षष्ठिका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफुल, ठेकुवा र कसार अर्घ्य दिन्छन्।

व्रतालु भक्तजनहरू राती धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्किन्छन्। तर शुद्धाशुद्धिको धेरै विचार गर्नुपर्ने भएकाले कही कतै अशुद्ध नहोस् भन्नेमा उनीहरू सजग हुन्छन्। शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइने धर्मावलम्बीहरूको विश्वास छ।

सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिँदै आएको व्रतालुहरुको विश्वास छ। अग्नि पुराणमा पनि षष्ठि व्रतको प्रसंग उल्लेख भएको बताइन्छ।

चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा रहेको बताइन्छ। त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ।

कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ। चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ।

कार्तिक १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू