हलोविनको पार्टीमा अन्धाधुन्ध गोली चल्दा पाँचजनाको मृत्यु भएपछि ‘हाउस पार्टी’मा प्रतिबन्ध

अमेरिकाको पर्यटनसँग सम्बन्धित अनलाइन बजार एयर बी एण्ड बीले अब आइन्दा स्वीकृति बिनाका पार्टी आयोजनामा प्रतिबन्ध लगाउने भएको छ ।

क्यालिफोर्नियामा कम्पनीले भाडामा लिएको घरमा बसेका मानिसले गरेको पार्टीमा अन्धाधुन्ध गोली चल्दा पाँचजनाको निधन भएको थियो । यो घटनापछि एयर बी एण्ड बी ले पूर्व जानकारी या स्वीकृति बिना हुने कुनै पनि प्रकारका पार्टीमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

विज्ञापन

पार्टी आयोजक तथा त्यसमा सहभागी हुने पाहुनाबाट हुन सक्ने अपमानजनक तथा अपराधजन्य घटनाबाट मुक्ति पाउनका लागि यस्तो निर्णय लिइएको कम्पनीले जनाएको छ ।

सन फ्रान्सिस्को नजिकै रहेको ओरिन्डा बजारमा रहेको घरमा भएको अन्धाधुन्ध गोली प्रहारमा तीनजनाको घटनास्थलमै र दुईजनाको उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।

हलोविनको अवसर पारेर शुक्रबार आयोजना भएको सो हाउस पार्टीमा सुरुमा थोरै मानिस थिए । पछि मानिसहरु थपिँदै गएर एक सयजना भन्दा बढी पुगेका थिए । आयोजकले पार्टीका लागि स्वीकृति लिएका थिएनन् ।

पार्टी चलिरहेकै क्रममा अन्धाधुन्ध गोली चल्दा पाँचजनाको मृत्यु भएको हो र मृत्यु हुने सबै ३० वर्ष भन्दा मुनिका छन् । शनिबारसम्म प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।

कार्तिक १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्