अमेजन जंगलका संरक्षकको हत्या

ब्राजिलको अमेजन जंगल संरक्षणमा खटिएका आदिवासी समुदायका एक युवाको हत्या भएको छ । काठ तस्करले अमेजनको संरक्षणमा खटिएका आदिवासी समुदायका युवाको गोली हानी हत्या गरेका हुन् । अर्का एक युवा घाइते भएका छन् ।

मारान्हाओ राज्यको जंगलमा शिकारका लागि गएका पाउलो पाउलिन्हो गुआजाजाराको टाउकोमा गोली लागेको जनाइएको छ । काठ तस्करले हानेको गोली लागेर उनको तत्कालै निधन भएको जनाइएको छ ।

उनी अमेजन जंगलको रक्षाका लागि आदिवासी समुदायले बनाएको गार्डियन अफ द फरेस्ट समूहका सदस्य हुन् । उनको हत्याले अमेजन जंगलको संरक्षणका लागि खटिएकाहरुको सुरक्षालाई लिएर चासो बढेको छ ।

यसअघि कम्तिमा तीन सदस्यको हत्या भएको थियो । यस्तै आदिवासी समुदायका अरु धेरै व्यक्तिको पनि तस्करले हत्या गर्ने गरेका छन् ।

अमेजन जंगलको पूर्वी क्षेत्रमा अधिक बसोबास रहेका आदिवासी संरक्षकको सुरक्षामा ब्राजिल सरकार असफल रहेको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आलोचना हुने गरेको छ ।

कात्तिक १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्