पूर्वी नेपालमा यसरी दिइयो उदाउँदो सूर्यलाई अर्घ्य

फाइल तस्बिर

विराटनगर – विराटनगरमा आइतबार उदाउँदो सूर्यलाई अर्घ्य दिँदै श्रद्धालु भक्तजनले छठ पर्वको व्रत सम्पन्न गरेका छन्।

चारदिनको कठिन पूजासँगै आइतबार बिहान विराटनगरको सिंघिया खोला, केशलिया खोला, नहर तथा पोखरीमा उदाउदो सूर्यलाई अर्घ्य दिँदै शक्तिरुपा छठीमाताको पूजा व्रतालुहरुले पुरा गरेका हुन्।

यसक्रममा विराटनगर खोला तथा पोखरीमा श्रद्धालुहरुको बिहान सूर्यलाई अर्घ्य दिन भीडभाड रहेको थियो।

छठ पर्वमा विश्वास रहेको बताएकी विराटनगर ३ की सूनिता खतिवडाले आफूले चिताएको कुरा यो पर्व मनाउँदा पूरा हुने बताइन्। छठको व्रत बस्दा सोचेको र चिताएको कुरा पूरा हुने बताएकी खतिवडाले परिवार तथा समाजमा शान्ति कायम रहेको हेर्न चाहेको उल्लेख गरिन्।

त्यसैगरि, विराटनगर ४ खारजीकी मुन्नी साह पनि लामो समयदेखि छठ पर्वमा व्रत बस्दै आएकी छिन्। उनी पनि यस पर्वले आफूमा उर्जा मिल्ने र चिताएको कुरा पूरा हुने तथा रोगव्याध नलाग्ने विश्वास रहेको बताउँछिन्।

छठको चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालुहरुले विधिवत रुपमा पर्वको समापन गर्ने परम्परा छ। ऋतु अनुसार उखु, नरिवल, केरा, भोगटे, सख्खर, ठेकुवा प्रसादका रुपमा रहने छठ विशेषतः सद्भाव, रोग निदान, सन्तान प्राप्ति र मनोकांक्षा पूरा हुने विश्वासका साथ मनाइने गरिन्छ।

कात्तिक १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्