प्रधानमन्त्रीको स्वास्थ्य

भीडबाट जोगिएर बस्न कति सम्भव होला प्रधानमन्त्री ओलीलाई?

काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई लिएर भइरहेको बहस टुंगिएको छ एक किसिमले।

तर, उनले सातामा कमसेकम तीनपल्ट डायलासिस गर्नु पर्ने या पुन : प्रत्यारोपणको बाटो रोज्नुपर्ने बाध्यता आइलागेको छ।

विज्ञापन

त्यसको असर सरकार र सत्ताधारी दलको कार्यक्षमतमा कस्तो पर्ला र जनताका नेता स्वास्थ्यका कारण भीडबाट जोगिएर बस्नु पर्ने स्थितिलाई ओलीले कति सहजरुपमा लेलान्? भन्नेबारे बहस सुरु भएको छ।

१२ वर्षअघि प्रत्यारोपित मिर्गौला फेल भएपछि तेस्रो पटक डायलासिसको तयारीमा ओली रहेको खवर आइरहेका बेला उनले लामो समयपछि आइतबार बिहान ११ बजे बालुवाटारमा मन्त्रीपरिषद् बैठक डाके।

निर्धारित समयमा पुगेका मन्त्रीहरुलाई ओली आफू एकै छिन शिक्षण अस्पताल पुगेर एक्सरे गरेर आइहाल्ने भन्दै निस्किए।

ओलीको प्रतिक्षामा रहेका एक मन्त्रीले देशसञ्चारसँग भने ,‘हामी इन, प्रम आउट हुनु भयो। पाँच मिनेटका लागि मात्रै है उहाँ निस्केको।’ तर ओली करिव २० मिनेटपछि मात्रै फर्किए बालुवाटार अनि  बैठकमा बसे।

अघिल्लो दिन शनिबार सत्तारुढ नेकपा सचिवालय बैठक डाके उनले बालुवाटारमै।

सचिवालयका सबै सदस्य समयमै  प्रधानमन्त्री निवास भूँई तलाको हलमा छिरे। तर, ओली त्यहाँ देखिएनन्। खबर आयो, ‘माथि प्रम ‘इन्जेक्सन’ लगाउँदै हुनुहुन्छ, एकछिन कुर्नु पर्ने भयो।’

नेताहरु अरुलाई प्रतिक्षा गराउँछन् तर उनीहरु स्वयमका लागि प्रतीक्षा कठिन हुन्छ।यसअघिका केही बैठकमा जस्तै फुत्त बाहिरिने मनस्थितिमा थिएनन् सचिवालय सदस्यहरु। ओलीको स्वास्थ्यबारे विस्तृत जान्ने चाहना स्वाभाविकरुपमा थियो उनीहरुको ।

सचिवालयका एक सदस्यका अनुसार ओली झण्डै डेढ घण्टापछि झुल्किए बैठकस्थलमा।ओलीले आफ्नो स्वास्थ्यबारे ‘ब्रिफिङ’ गर्नु पर्ने माग उठ्यो। उनले भने,‘ बाहिर भनिए जस्तो गम्भीर हैन म। केही समस्या देखियो। फोक्सोमा पानी जमेछ। मिर्गौलाले काम गर्न छोडेछ। थप डायलासिसबारे डाक्टरहरु छलफल गर्दै हुनुहुन्छ।’

धापासीस्थित ग्रान्डी इन्टरनेशल अस्पतालमा ओलीले डायलासिस गरेर फर्केको जम्मा दुई दिन भएको थियो।

सचिवालयका अर्का एक अर्का सदस्यका अनुसार ओलीले आफ्नो स्वास्थ्यबारे विवरण दिइरहँदा उनको शरीर अघिपछि भन्दा धेरै कमजोर देखिन्थ्यो।

अनुहार सुन्निएको थियो। बोली सुकेको थियो। तर आफूसँग उच्च आत्मबल रहेको सन्देश दिन चाहिरहेका थिए उनले।

त्यसको अघिल्लो दिन शुक्रबार दिनभरि बालुवाटारभित्रै आराम गरेका ओलीको साँझपख माथिल्लो त्रिशुली —१ जलविद्युत आयोजनाको ऋण सम्झौता कार्याक्रमको उद्घाटन सत्रमा भिडियो सन्देश बज्यो।

लाजिम्पाटस्थित होटल र्‍याडिसनमा आयोजित कार्यक्रममा सामेल एक महत्वपूर्ण निकायका प्रमुखले चिन्ता गरे, ‘प्रधानमन्त्री ओली नै भएको भए अझ राम्रो हुन्थ्यो। दुरी त खासै लामो होइन। तर उहाँ विरामी परिरहनुहुन्छ। भिडियो सन्देश पठाएर सबै ठाउँमा साध्य पनि नलाग्न सक्छ।’

आम नागरिक सरह प्रधानमन्त्री ओलीलाई पनि बिरामी हुँदा उपचार र आराम गर्ने कम अधिकार छैन। अझ नेपालमा त विशिष्ट व्यक्तिको विशेषाधिकार आम नागरिकको भन्दा धेरै माथि छ।

त्यसैले प्रश्न उठ्छ : प्रधानमन्त्रीका कारण मुलुकको उत्पाकत्वमा लाग्नुपर्ने समय र उर्जाको न्यूनतम सदुपयोग हुने कि नहुने? ओली रहेको पद यो मुलुकका लागि जति महत्वपूर्ण छ त्यत्ति नै संवेदनशील पनि।

ओलीको स्वास्थ्य अवस्थामा ‘निजत्व’को अंश होला, तर त्यसलाई बुझाउन प्रधानमन्त्री कार्यालय, निजी चिकित्सक र सम्बिन्धत अस्पतालबीचको सहकार्य स्वीकार्य अभ्यास हैन प्रजातन्त्रमा।

ओलीले आइतबार आफ्नो पार्टीको सचिवालय बैठकमा स्वीकार गरे जस्तै उनले अन्य मिर्गौलाका बिरामी जस्तै अब साताको तीन पटक डायालसिस गर्नु पर्ने देखिन्छ। त्यसका लागि दिनमा चार घण्टाका दरले सातामा न्यूनतम १२ घण्टा आफ्नो उपचारका लागि ओलीले समय दिनुपर्ने देखिन्छ।

त्यो सँगै आराम, निन्द्रा, शारीरिक अभ्यास, अनुशासित भोजन तथा जीवनशैलीका लागि धेरै समय खर्च गर्नु पर्ने छ उनले। अर्थात प्रधानमन्त्रीको जिम्मेवारीले माग्ने धेरै समय अब ओलीले आफ्नो स्वास्थ्यको हेरचाह र संरक्षणमा खर्चिनुपर्ने अवस्था आएको छ।

प्रधानमन्त्रीका कारण मुलुकको उत्पाकत्वमा लाग्नुपर्ने समय र उर्जाको न्यूनतम सदुपयोग हुने कि नहुने? ओली रहेको पद यो मुलुकका लागि जति महत्वपूर्ण छ त्यत्ति नै संवेदनशील पनि।

ओलीले आफ्नो स्वास्थ्य बलियो बनाउन आफ्नो जिम्मेवारी घटाउनु पर्ने हुन सक्छ। त्यसबाट सरकारको कामकारवाहीमा असर पर्ने चिन्ता बढ्नु स्वाभाविक हो। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाले राज्यका विभाग तथा निकायहरुको दैनिक कामकारवाहीमा कस्तो असर पर्ला, त्यो समेत बहसमा आउन थालेको छ।

नेपाल लाइभका सम्पादक नारायण अमृतको ट्वीट यस्तो छ, ‘प्रधानमन्त्री केपी ओलीलाई मिर्गौलाको समस्या रहेको कुरा कुनै नयाँ र बहसको विषय होइन। यसबारे विरोधीहरुको रोइलो आवश्यक छैन। प्रधानमन्त्री अस्वस्थ हुन पाउँछन् तर देशको प्रणाली र यसका पुर्जाहरु अस्वस्थ हुन पाउँदैनन्। चुरो कुरो यही हो।’

ग्रान्डीबाट ओलीलाई डिस्चार्ज गरेपछि निजी चिकित्सक डा. दिव्यासिंह शाहले आफू निकट एक चिकित्सकलाई भनेकी छिन्, ‘प्रधानमन्त्री ओलीले अव आफ्नो स्वास्थ्य राम्रो बनाउन पर्याप्त समय दिनु आवश्यक छ विशेषगरी उपचार, निन्द्रा र आरामका लागि।’

ओलीको स्वास्थ्यबारे अपडेट गराउने झन्झट वा ओलीकै दबाबका कारण पछिल्लो समय सञ्चारमाध्यमबाट टाढा रहेकी डा.शाहले ओलीलाई पहिले पनि त्यस्तो सुझाव पक्कै दिएकी थिइन्। १२ वर्षअघि प्रत्यारोपित मिर्गौला फेल भइसकेको अवस्थामा नियमित डायलासिसका लागि ओलीले कसरी समयको व्यवस्थापन गर्लान्? त्यो उनको प्राथमिकता बन्ने छ।

शरिरमा मिर्गौलासम्बन्धी एन्टीबडी धेरै देखिएपछि प्लाज्मा फेरेसिसबाट त्यसलाई हटाउन ओलीले गत भदौमा २० दिन छुट्याए, सिंगापुर जाँदा। चिकित्सकका अनुसार प्रत्यारोपित मिर्गौलालाई बचाउन ‘हाइडोज’ औषधि खानुपर्ने बाध्यताका कारण ओलीको शरीर कमजोर बन्न पुग्दा शरीरमा एन्टीबडी देखा परेको थियो।

किस्ट मेडिकल कलेजका युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन डा. नारायण भुसाल भन्छन्, ‘अर्काको अंगलाई हाम्रो शरिरले स्वीकार गर्न खोज्दैन। अनेक प्रतिक्रिया जनाउँछ। तर उसलाई बाध्य बनाउन उसको रोगप्रतिरोधात्मक क्षमता कम गराउने इमियुनोसप्रेन्सेन्ट औषधि दिइन्छ। असरस्वरुप शरीरमा विभिन्न किसिमका एन्डीबडी र संक्रमण देखा पर्छन्।’

भिडियो हेर्नुहोस्:

गत साउन १८ गतेदेखि एक सातासमम पनि ओलीले सिंगापुरमा बिताउनु परेको थियो, उपचारकै लागि। यो बीचमा उनी छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगे र त्रिवि शिक्षण परिसरमा रहेको मनमोहन कार्डियो भास्कुलर थेरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा धेरैपटक पुगे, नियमित उपचार र जाँच भन्दै।

ग्रान्डीमा पुगेर तेस्रो पटक डायलासिस गर्ने तयारीमा रहेका ओलीले आइतबार एक्सरे गरेपछि मन्त्रिपरिषद् र सचिवालय बैठक सञ्चालन गरे। तर उनको गति सुस्त देखिएको मन्त्रिपरिषद बैठकमा सहभागि एक मन्त्रीले बताएका छन्।

‘उहाँको काम गर्ने चाहना त छ तर शरिरलाई आराम चाहिएको देखिन्छ। लामो समय कुर्सीमा बसिरहँदा उहाँले असहज महशुस गरेको देखिन्थ्यो,’ मन्त्रिपरिषद बैठकमा सहभागि एक मन्त्रीले भने।

आइतबारको मन्त्रीपरिषद बैठक करिव डेढ घण्टा चल्यो। साँझ पनि उनले त्यसलाई निरन्तरता दिए।  डा. भुसाल प्रत्यारोपणपछि होस् या डायलासिसका क्रममा, बिरामीलाई कुनै पनि कारणले कुनै पनि प्रकारको संक्रमणले आक्रमण गर्न सक्ने हुँदा उनीहरु सकेसम्म भिडभाडबाट टाढा बस्नुपर्छ भन्छन्।

तर कतिपय महत्वपूर्ण सार्वजनिक कार्यक्रमहरु मुलुकको कार्यकारी बिना अर्थपूर्ण नहुने हुँदा ओलीले भित्र बसेर के निर्णय लेलान्?

प्रधानमन्त्री ओलीको प्रेस संयोजक कुन्दन अर्याल भने प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा जान यसैपनि छोडेको र अव नजाँदा त्यसले कुनै असर नपार्ने जिकिर गर्छन्। तर, प्रधानमन्त्रीका सल्लाहकारहरुमा प्रधानमन्त्रीले जे गरे या जे गर्छन् त्यो ठिक छ भन्ने प्रवृति पनि त्यतिकै व्याप्त छ।

उनी भन्छन्, ‘भित्रको काम गर्न छोडेर खाली उद्घाटन मात्रै गर्दै हिड्ने प्रधानमन्त्री जस्तो व्यक्ति भन्दै आलोचित हुनुपरेको थियो पहिलो वर्ष। यो वर्षदेखि उहाँ भित्रकै काममा व्यस्त हुनुहुन्थ्यो। त्यस्ता कार्यक्रममा नजाँदा देशको प्रधानमन्त्रीको स्वास्थ्य राम्रो हुन्छ भने नजाँदा के फरक के पर्छ र? भित्रकै महत्वपूर्ण काम कति छन् कति।’

त्यो सँगै प्रधानमन्त्री र भीभीआई पी उपचारमा लाग्ने खर्चबारे नीतिगत स्पष्टता र राज्य व्यवहारमा पारदर्शीता पनि विस्तारै जनचासोको विषय बनिरहेको छ। बिरामी प्रधानमन्त्री ओली विवादमा नतानिन यसबारे आवश्यक निर्णय लिनु पर्ने देखिन्छ।

कार्तिक १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्