नेपालगञ्ज पेस्तोल काण्ड

‘डिएसपीले खसी मागेको विषयमा छानबिन गर्दैछौँ’

पत्रकार सम्मेलनमा बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंह।

नेपालगञ्ज – तरुण दलका नेता सन्दीपजंग शाहसहित चार जनालाई कोहलपुर प्रहरीले बिहीबार अत्याधुनिक पेस्तोलसहित पक्राउ गर्‍यो।

गनापुरमा रहेको नमस्ते भिलेज रिसोर्टमा गत बिहीबार राति ८.२३ बजे इलाका प्रहरी कर्यालय, कोहलपुरका इन्चार्ज डीएसपी हेमबहादुर शाहीको नेतृत्वले जाँच गर्दा सन्दीपको बा १८ च ४२११ नम्बरको मारुती सुजुकी कारमा ‘लोडेड’ पेस्तोल बरामद भएको थियो।

प्रहरीका अनुसार खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको टेण्डरलाई प्रभावित पार्न सन्दीपसहितका ६ जना नमस्ते भिलेज रिसोर्टमा खानपिनको साथ छलफल गर्दै थिए।

बाँके प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार, सन्दीपको कार ६ बजे नमस्तेभित्र छिरेको छ। प्रहरीलाई विशेष सूचना आएपछि इप्रका कोहलपुरका डीएसपी शाही ८ बजेर १८ मिनेटमा नमस्तेभित्र प्रवेश गरेका छन्।

८ बजेर २३ मिनेटमा सन्दीपलाई खोल्न लगाएर गाडी खोलिएको छ। त्यतिबेलासम्म गाडी ‘लक’ थियो। गाडी जाँच गर्ने क्रममा पेस्तोल र दुई गोली बरामद भयो। प्रहरीले सन्दीप, प्रितम थापा, माधव नेपाली, यमबहादुर बुढालाई नियन्त्रणमा लिएर भोलीपल्टै ७ दिनको म्याद थपेर कारबाही प्रक्रिया अघि बढाएको थियो। त्यो दिन माधव शाह कानु र दिनेशकुमार शाही पनि नमस्तेमा थिए। उनीहरुलाई भने प्रहरीले तारेखमा छोडेको छ।

बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले पत्रकार सम्मेलनमा भने अनुसार त्यो दिन भएको घटना यति मात्रै हो।

सन्दीपसहित चार जनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएपछि एउटा अडियो बाहिरिएको छ। अडियोमा डीएसपी हेमबहादुरले दिनेशकुमार शाहीसँग टेलिफोनमा खसी मागेकोदेखि तिघ्रा छेड्नेसम्मको संवाद रहेको छ भने पेस्तोल बरामदपछि जाँच गर्दाको भिडियो रहेको छ।

पेस्तोल काण्डपछि कांग्रेसले खसी माग गरिएको कुरालाई जोडतोडले उठान गरेको छ। प्रहरीले नै गाडीमा हतियार राखेर फँसाएको कांग्रेसको आरोप छ। प्रहरीले भने कांग्रेसको आरोपलाई अस्वीकार गरेको छ।

५ नम्बर प्रदेश प्रहरी कार्यालय, दाङले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नरबहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली गठन गरेको छ। एसएसपीको केसीको टोलीले अडियोको विषयमा छानबिन गर्ने बाँके प्रहरी प्रवक्ता डीएसपी सिंहले जानकारी दिए।

‘हातहतियारको विषयमा कारबाही प्रक्रिया अघि बढिसकेको छ। खसी मागेको अडियोको विषयमा प्रदेश प्रहरीले छानबिन गर्दैछ’, बाँके प्रहरी प्रवक्ता डीएसपी सिंहले भने, ‘अडियो र पेस्तोल काण्ड फरक हुन् ।’

यसैबीच नेकपा, बाँकेले आइतबार विज्ञप्ती जारी गरेर अपराधी कसैको पार्टीको मान्छे नहुने भएकाले प्रहरीलाई निष्पक्ष छानबिन गर्न आग्रह गरेको छ।

जिल्ला अध्यक्ष आइपी खरेल र सचिव अशोक कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘घटनालाई राजनीतिक रंग दिएर जिल्लाको शान्ति सुरक्षा र अमनचयनलाई प्रभावित पार्दै अराजकतालाई प्रश्रय दिने जुनसुकै हर्कतको हाम्रो पार्टी घोर भर्त्सना गर्दछ। नेपाल सरकार, नेपाल प्रहरीलाई यस्ता प्रकारका अपराधिक घटनामा संलग्न जोसुकैलाई कानूनी दायरामा ल्याएर उच्च मनोबलका साथ कारबाही गर्न जोडदार माग गर्दछौँ।’

 

कार्तिक १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्