कैलाली दुर्घटना अपडेटः दुई जनाको मृत्युपछि राजमार्ग अवरुद्ध

धनगढी– कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

आइतबार साँझ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पहलमानपुर बजारमा दुर्घटना हुँदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका –१० का ४० वर्षीय राम बहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको र घाईते एक जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिश शरण भट्टले जानकारी दिए।

विज्ञापन

प्रहरी निरिक्षक भट्टका अनुसार पश्चिमबाट पूर्वतर्फ गईरहेको भे १ ख १७३२ नम्बरको बसले विपरीत दिशातर्फ जान लागेको से ३ प ६३७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको हो।

दुर्घटनामा परि मोटरसाइकलमा सवार घोडाघोडी–१० का ४२ वर्षीय मान बहादुर चौधरी गम्भीर घाईते भएका थिए। उनको धनगढीस्थित सेती अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको विरोधमा आफन्तहरुले शव नउठाइ राजमार्ग अवरुद्ध पारेका छन्। राजमार्गमा टायर बालेर घटनाको विरोध गर्दै राजमार्ग अवरुद्ध गरेका हुन्। राजमार्गमा भएको शव नउठाउदा राजमार्ग अवरुद्ध भइ छोटो तथा लामो दुरिको कुनै पनि सवारी साधन नचलेपछि यात्रुहरु अलपत्रमा परेका छन्।

बस चालक बाँकेका ३२ वर्षिय डिल्ली बहादुर योगीलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ।

कार्तिक १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्