कर्मचारीसँगको प्रेमका कारण म्याकडोनल्सका सिइओ बर्खास्त

म्याकडोनाल्सले आफ्ना प्रमुख कार्यकारी अधिकृतलाई बर्खास्त गरेको छ । फास्टफुड क्षेत्रमा स्थापित अमेरिकी कम्पनी म्याकडोनाल्सले कम्पनीका सिइओ स्टीभ इस्टरब्रुकलाई कम्पनीकी एक कर्मचारीसँग प्रेम सम्बन्ध कायम गरेकोमा बर्खास्त गरेको हो ।

स्टीभ र ती कर्मचारीबिचको सम्बन्ध सहमतिको रहे पनि कम्पनीको नीति विपरित भएकाले बर्खास्त गरिएको म्याकडोनल्सले जनाएको छ । सहकर्मीलाई पठाएको एक इमेलमा स्टीभले ती कर्मचारीसँगको आफ्नो सम्बन्ध स्वीकार गरेका छन् र आफूबाट गल्ती भएको उल्लेख गरेका छन् ।

विज्ञापन

आफू बोर्डको निर्णयमा सहमत रहेको र कम्पनीको मूल्यलाई सम्मान गर्ने उनले बताएका छन् । ५२ वर्षका स्टीभ डिभोर्सी हुन् । उनले सन् १९९३ मा म्यानेजरका रुपमा म्याकडोनल्सको लण्डन कार्यालयमा काम सुरु गरेका थिए । त्यसपछि उनी बढुवा हुँदै कम्पनीको सिइओसम्म भएका हुन् ।

उनले बिचमा पिज्जा एक्सप्रेस र वागामामामा पनि काम गरे । सन् २०११ मा म्याकडोनल्स छोडेका उनी सन् २०१३ मा बेलायत तथा उत्तरी युरोपको प्रमुखका रुपमा म्याकडोनल्समा फर्किएका हुन् । सन् २०१५ मा उनी कम्पनीको सिइओ भए । कम्पनीको बोर्डले शुक्रबार उनलाई बिदा गर्ने पक्षमा निर्णय गरेको हो । उनको ठाउँमा अब क्रिस केम्पजिन्स्की सिइओ हुनेछन् ।

कार्तिक १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्