दसैँ–तिहार बिदामा लुम्बिनी भ्रमण गर्ने बढे, एक लाख नेपालीले घुमे

बुटवल – दसैँ–तिहारबिचको बिदामा बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गर्ने आन्तरिक (नेपाली) पर्यटकको संख्या लाख नाघेको छ ।

लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार असोज १४ गतेदेखि कात्तिक १४ गतेसम्म १ लाख ४ हजार २ सय २५ नेपाली पर्यटकले लुम्बिनी घुमेका छन् ।

विज्ञापन

सूचना अधिकृत बस्नेतका अनुसार गत वर्ष सोही अवधिमा ८८ हजार ५ सय ८२ आन्तरिक पर्यटकले लुम्बिनी घुमेका थिए ।

भैरहवा हुँदै लुम्बिनी पुग्ने सडकमार्ग बिस्तारको काम सम्पन्न भएको भए पर्यटकको संख्यामा अझै वृद्धि हुनसक्ने अनुमान विकास कोषको छ ।

लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले भैरहवाबाट लुम्बिनीसम्मको धुलाम्मे सडकको अवस्थाका कारण धेरै पर्यटक लुम्बिनी नआएर अन्यत्रै गएको बताए ।

‘सडक बनेर सकिएको भए लुम्बिनी आउने पर्यटकको संख्या अझै धेरै हुन्थ्यो’ उनले भने।

यसपटक जुम्ला, कालिकोट, लगायतका जिल्लाबाट समेत ठूलो संख्यामा पर्यटक आएको लुम्बिनी विकास कोषले जनाएको छ।

नेपाली पर्यटकहरुका लागि बुद्धजन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र कुण्ड, शान्तिस्तुप तथा बेबी बुद्ध प्रतिमा रहेको क्षेत्र साथै केन्द्रीय नहरमा नौका विहार आकर्षणको केन्द्र रहेका छन् ।

विदेशी र भारतीय पनि बढे

लुम्बिनी विकास कोषका अनुसार गत अक्टोबर महिनामा १८ हजार ५सय ७७ जना विदेशी पर्यटक लुम्बिनी भ्रमणमा आएका छन् । त्यस्तै अघिल्लो वर्षको अक्टोबर महिनामा १८ हजार २ सय १८ जना, २०१७ को अक्टोबरमा १६ हजार ५ सय ९६ जना विदेशी पर्यटक लुम्बिनी भ्रमणको लागि आएका थिए ।

लुम्बिनी भित्रिएका पर्यटकमा भारतीयको संख्या पनि वृद्धि भएको कोषले जनाएको छ । सन् २०१९ को अक्टोवर महिनामा २० हजार ९सय ९ जना भारतीय पर्यटक आएका थिए भने २०१८ १६ हजार ९ सय ८ जना र २०१७ मा १५ हजार ९सय ८५ जना भारतीयले लुम्बिनी भ्रमण गरेका थिए ।

कार्तिक १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू