के दिल्लीको वायु प्रदूषणको प्रभाव नेपालमा पनि पर्छ? यस्तो भन्छन् विज्ञ

काठमाडौँ – हावा नै प्रदूषित भएपछि स्वास फेर्नै गाह्रो हुन्छ । त्यसमाथि प्रदूषणको अवस्था सहन गर्नै नसक्ने अवस्थामा पुगेपछि त स्वास फेर्दा पनि विष नै लिए जस्तो हुन्छ । भारतको राजधानी दिल्लीको अवस्था यस्तै भएको छ अहिले, कम्तीमा त्यहाँका मुख्यमन्त्री अरविन्द केजरिवालको भनाई अनुसार ।

विगत केही दिनदेखि दिल्लीसहित भारतको उत्तरी क्षेत्रको वायुमण्डलमा अत्याधिक प्रदूषित भएको छ । त्यहाँ बाक्लो धुवाँको तह बनेको छ । स्थानीय बासिन्दालाई सुरक्षाका लागि घरबाहिर ननिस्कन भनिएको छ ।

दिल्लीको वायू प्रदूषण उच्च तहमा पुगेका बेला नेपालमा पनि त्यसको प्रभाव पर्छ कि भन्ने चिन्ता सर्वसाधारणमा छ । तर तत्काललाई चिन्ता गर्नु पर्ने अवस्था नरहेको मौसमविदले बताएका छन् ।

दिल्लीसहितका क्षेत्रमा रहेको प्रदूषणको प्रभाव नेपाल आउनका लागि दक्षिण–पश्चिमी वायु सक्रिय हुनु पर्छ, तर अहिले सो मौसमी प्रणाली क्रियाशिल नरहेको र चाँडै नै सक्रिय हुने अवस्था पनि नदेखिएको मौसमविद वरुण पौडेलले बताएका छन् ।

अहिले हावा चल्न सकेको छैन र तत्कालै वायु सक्रिय हुने सम्भावना पनि नरहेकाले काठमाडौँसहितका मध्य तथा पहाडी क्षेत्रमा दिल्लीमा अहिले भइरहेको वायु प्रदूषणको प्रभाव नपर्ने मौसमविद पौडेलले बताए । तर पश्चिम नेपालका तपाई क्षेत्रमा भने केही प्रभाव पर्न सक्ने देखिएको छ । धनगढी, नेपालगञ्ज, भैरहवासहितका तराई क्षेत्रमा केही प्रभाव देखिन सक्ने उनले बताए । त्यसका लागि हावा चल्नु पर्छ । स्याटेलाइट तस्बिरमा हेर्दा धुलोका कणहरु केही दिनअघि देखिएको थियो । तर अहिले त्यो पनि देखिएको छैन ।

तराईका क्षेत्रमा माइनर पार्टिकल अर्थात धुलोका स–साना कण आउन सक्ने र त्यसले गर्दा वायु प्रदूषणको अवस्था आउन सक्ने मौसमविद पौडेलले बताए । यस्तो अवस्थाका लागि दिल्लीबाट नेपालतिर हावा चल्नु पर्छ । तत्काल त्यो सम्भावना छैन ।

दिल्लीमा अहिले हावा नचलेका कारण तुवाँलो लागेको मौसमविदको भनाई छ । जाडोका बेला यसै पनि धुवाँ–धुलो वायुमण्डलमै रहने हुँदा धुम्मिने समस्या देखिन्छ । त्यसमाथि हावा नचल्दा प्रदूषण थप लम्बिने गर्छ ।

तर वातावरणविद भने दिल्लीसहित बंगलादेश, पाकिस्तानसम्मकै क्षेत्रको वायु प्रदूषणको अवस्थामा रहेकाले सचेत हुनु पर्ने र त्यसको प्रभाव तराई क्षेत्रमा देखिन थालेको बताउँछन् ।

काठमाडौँसहित पहाडी क्षेत्रमा त्यसको प्रभाव नपरे पनि तराईका क्षेत्रमा भने असर देखिन थालेको वातावरणविद गोविन्दप्रसाद लामिछानेले बताएका छन् । लुम्बिनी, नेपालगञ्ज, सौराहासहितका क्षेत्रको वायुमा पिएचको मात्रा सामान्यभन्दा माथि देखिएको र त्यो त्यतैको असर रहेको हुन सक्ने उनले बताएका छन् ।

कात्तिक १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्