सुदूरपश्चिम प्रदेश प्रमुखमा चर्चामा रहेकाहरु

धनगढी – सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुखका लागि मुख्यतया चारजनाको चर्चा सुरु भएको छ । आइतबार राष्ट्रपतिले सातै प्रदेशका प्रमुखलाई एकसाथ पदमुक्त गरेपछि सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख को हुने भन्ने बारेमा चर्चा सुरु भएको हो ।

नेताहरुले आइतबारदेखि नै केन्द्रमा लविङ सुरु गरेका छन् । यस प्रदेशमा प्रदेश प्रमुखको होडमा मुख्यतया नेकपाका चारजनाको चर्चा तथा लविङ बढी देखिएको छ । नेकपा स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश प्रमुखमा तत्कालीन एमाले बझाङका भानुभक्त जोशी, कञ्चनपुरका गोविन्दप्रसाद कलौनी, बाजुराका कर्णबहादुर थापा र दयाल बहादुर शाहीको नाम अगाडि छ ।

सम्भावित भानुभक्त जोशी सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा राम्रो छवी भएका इमान्दार नेताका रुपमा परिचित छन् । तीनपटक चुनाव लडेका जोशी २०५६ को चुवानमा पराजित भए पनि २०६४ सालमा सम्पन्न संविधानसभाको निर्वाचनमा विजयी भएर वनमन्त्री बनेका थिए । उनी हाल नेकपा सुदूरपश्चिम प्रदेशको सह–इन्चार्जको जिम्मेवारीमा छन् ।

नेकपाका अर्का नेता कर्ण थापाको पनि प्रदेश प्रमुखका दावेदारको रुपमा चर्चा हुन थालेको छ । उनी बाजुराबाट दुईपटक चुनाव लडेका थिए । २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा विजयी भएका उनी उद्योगमन्त्री समेत भएका थिए । तर मन्त्री पदको दुरुपयोग गरेको आरोपमा बर्खास्त परेका थिए । हाल उनी नेकपा सुदूरपश्चिम प्रदेशको अध्यक्ष समेत हुन् ।

प्रदेश प्रमुखकै चर्चामा आएका अर्का नेता गोविन्द कलौनी कञ्चनपुरबाट नेकपाको राजनीति गर्दै आएका छन् । कलौनीले २०५१ सालमा डडेल्धुरा, २०५६ मा बैतडी र २०६४ मा कञ्चनपुरबाट चुनाव लडेका थिए । तर उनी निर्वाचित हुन सकेनन् । २०६८ साल फागुन २१–२३ काठमाडौँमा सम्पन्न भएको प्रथम राष्ट्रिय प्रतिनिधि परिषद बैठकबाट केन्द्रीय निर्वाचन आयोगको सदस्य भएका कलौनी हाल नेकपाका केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष समेत हुन् ।

नेकपाका अर्का नेता दयालबहादुर शाहीको नाम पनि प्रदेश प्रमुखको चर्चामा छ । दयाल शाही पूर्व एमालेका पुराना नेता हुन् । उनले बाजुरामा लामो सयम सम्म एमालेको जिल्ला सचिव भएर काम गरेका थिए । हाल काठमाडौँमा रहेका उनी नेकपाको कुनै पदीय जिम्मेवारीमा छैनन् । सबै नेताहरुले प्रदेश प्रमुखका लागि लविङ गरिरहेको नेकपा स्रोतले बतायो । अझ यी चार मध्ये भानुभक्त जोशी र गोविन्दप्रसाद कलौनीको सम्भावना बढी रहेको नेकपा स्रोतले बतायो ।

यीसँगै नेकपाका अर्का पुराना नेता महेश्वर पाठक र हनुमान चौधरीको पनि प्रदेश प्रमुखमा चर्चा सुनिएको छ । पाठक २०७० सालमा सम्पन्न निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं ६ बाट चुनाव लडेका थिए । उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए । त्यस अघि २०५१ सालको निर्वाचनमा पाठक यसै क्षेत्रमा विजय भएका थिए । हनुमान चौधरी एमालेका पूर्व कैलाली जिल्ला अध्यक्ष समेत हुन् ।

कात्तिक १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्