टाउकोमा गम्भीर चोट लागेकी बालिकाले अस्पताल जान मुश्किले पाइन् जहाजको टिकट

मुगु – (अपडेट) घरको छतबाट खसेर टाउकोमा गम्भीर चोट लागेकी मुगुकी एक बालिकालाई हवाई टिकट नपाउँदा उपचारका लागि अस्पताल लैजान समस्या भएको थियो । कठिन प्रयासपछि उनले टिकट पाएकी छन् ।

चार दिनअघि छतबाट खसेर टाउकोमा गम्भीर चोट लागेकी मुगुको छायानाथ रारा नगरपालिका–६ रञ्जनमालाकी ९ वर्षकी बालिका ममता नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजानका लागि विमान टिकट नपाउँदा समस्या भएको थियो ।

विज्ञापन

जिल्ला अस्पताल मुगुले चोट गम्भीर रहेकाले थप उपचारका लागि नेपालगञ्ज लैजान भनेको ममताका बुवा नन्द नेपाली र आमा वैदेवी नेपालीले बताएका छन् ।

तर ताल्चा विमानस्थलबाट नेपालगञ्ज उडान भर्ने तारा एयरको विमानले ठाउँ छैन भनेर उनीहरुलाई टिकट दिएको थिएन । जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई उपचारका लागि नेपालगञ्ज लैजानका लागि टिकट दिन भन्दै पत्र काटेको भए पनि एयरलाइन्सले विमानमा ठाउँ नभएको भन्दै टिकट नदिएकाे थिएन । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले फाेन गरेर टिकट दिन भनेपछि ममताले टिकट पाएकी हुन् ।

डाक्टरले ममताको टाउकोमा गम्भीर चोट लागेकाले बसमा लैजान नमिल्ने भनेकाले विमानमा जानुको विकल्प नरहे पनि आफूहरुले टिकट नपाउँदा छोरीको उपचारका लागि अस्पताल लैजान नसकिएकोमा अब आश  पलाएकाे आमा वैदेवीले बताइन् ।

कार्तिक १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्