सांसद अफताब आलमविरुद्ध ११जनालाई ज्‍युउँदै जलाएको अभियोग दर्ता

रौतहट-बम बनाउने क्रममा भएको विष्फोटका घाइतेलाई ज्युँदै इँट्टाभट्टामा हालेर मारेको अभियोगमा कांग्रेस सांसद मोहम्मद अफताब आलमसहित ११ जनाविरुद्ध अभियोग दर्ता भएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले आलमसहितका व्यक्तिले त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहित दर्जन भन्दा बढी व्यक्तिलाई क्रुर मानवताविरुद्धको कसूर अपराध गरेको भन्दै अभियोगपत्र दर्ता गराएको हो।

विज्ञापन

सरकारी वकिल कार्यालयले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशंहर साहसमेत विरुद्ध अभियोगपत्र दायर गरेको हो। आलमबाहेक अरु सबै फरार रहेका छन् । उनीहरुविरुद्ध पक्राउ पुर्जी म्याद जारी गर्न पनि सरकारी वकिल कार्यालयले माग गरेको छ।

सरकारी वकिल कार्याललयले आलमसहितका व्यक्तिले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र गैरकानुनी रुपमा विस्फोटक पदार्थ राख्ने अपराध गरेको दावीसहित यी तीनवटै कसूरमा सजाय माग दावी गरेको छ।

त्यस्तै घाइते सफी अहमद र गौरीशंकर राम चमारमाथि ज्यान मार्ने उद्योग गरेको आरोपमा मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलको १५ नम्बर र मुलुकी अपराध संहिताको १८३ (२) बमोजिम कारबाही गर्न मागदावी गरिएको छ।

मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलको १५ नम्बर अनुसार ज्यान मार्ने उद्योग गर्नेलाई ५ देखि १२ वर्षसम्म कैद सजाय हुनेछ। यही कसूरमा मुलुकी अपराध संहिताले १० वर्ष कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ।

त्यस्तै सरकारी वकिल कार्यालयले घाइतेहरुलाई जिउँदै जलाएको अभियोगमा मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलको १ र १३ (१) अनुसार र मुलुकी अपराध संहिताको दफा १७७ (२) अनुसार कारबाही गर्न माग गरिएको छ। यो कसूरमा सर्वस्वसहित जन्मकैद हुने व्यवस्था छ।

कार्तिक १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू