प्रदेश प्रमुखमा सिफारिस भएका ‘प्यासी’को राजनीतिक विगत यस्तो छ

पोखरा-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सोमबार बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रमुखहरु नियुक्तका लागि निर्णय गरेको छ।

प्रदेश प्रमुखका लागि कास्कीका नेकपा स्थायी कमिटी आमन्त्रित सदस्य सोमनाथ अधिकारी प्यासीसमेत सिफारिस भएका छन्।

मन्त्रीपरिषद् बैठकको उनी कुन प्रदेशको प्रमुख हुन्छन् भन्ने कुरा टुंगो लाग्न भने बाँकी छ। कास्की जिल्लाका भएकाले प्यासी सम्भावित गण्डकी प्रदेशको प्रमुखको रुपमा देख्न सकिने आंकलन गरिएको छ।

मन्त्रीपरिषद्को निर्णय सिफारिसको आधारमा राष्ट्रपतिद्वारा प्यासी प्रदेश प्रमुख घोषणा हुने पक्का भएको छ। त्यससँगै कम्युनिष्ट आन्दोलनको अगुवाई गर्दै विद्यार्थी राजनीतिदेखि प्रदेश प्रमुखसम्मको यात्रा प्यासीले तय गर्ने भएका छन्।

प्यासी विसं २००७ साल पौष २२ गते पोखरा महानगरपालिका १६, बाटुलेचौरमा जन्मिएका हुन् । उनले पृथ्वीनारायण क्याम्पस पोखरामा अंग्रेजी विषयमा स्नातकतहसम्म अध्ययन गरेका छन्।

उनको राजनीति यात्रा भने विसं २०२४ सालमा प्रगतिशील विचार अध्ययन समूहको सदस्य हुँदादेखि नै सुरु भएको उनका समकालिन साथीहरु बताउँछन् । तत्कालिन मार्क्सवादी लेनिनवादी क्रान्तिकारी कम्युनिष्ट दल (गण्डकी धौलागिरीको ०२५ जेठ ३० मा संस्थापक सदस्य भएका प्यासी ०२७ सालमा एक कार्यकाल पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएका थिए।

उनी त्यस समय प्रगतिशील प्यानलबाट स्ववियु सभापतिमा निर्वाचित भएका हुन्। राजनीतिसँगै साहित्यीक छवि बनाएका प्यासीले स्ववियुको कार्यकालमै रहँदा माछापुच्छ्रे पत्रिका वार्षिक प्रकाशन थालेका थिए। पछिल्लो स्ववियु कमिटीले पनि उक्त प्रकाशनलाई निरन्तरता दिएको थियो।

पार्टीमा रहँदा अनेकौं रचनात्मक कामको सिर्जना गर्ने र निरन्तरता दिने प्यासीको स्वभाव रहेको उनी निकटका नेता सुनाउँछन्। प्यासी ०२९ सालमा तत्कालिन नेकपा माक्र्सवादी लेनिनवादी क्रान्तिकारी कम्युनिष्ट दलको कास्की जिल्ला सचिव भए।

पार्टीको जिम्मेवारी सम्हाल्दैं ०३१ सालमा ‘आफैं बाँच पार्टी काम गर’ अभियानमूलक नारासहित पार्टी संगठन विस्तारका लागि म्याग्दी जिल्लाको दरबाङ र दोभामा शिक्षण थालेका थिए।

त्यसैक्रममा उनी ०३२ सालमा पार्टीकै निर्देशनमा दोभा गाउँ पञ्चायतलाई ३ महिना कब्जाको नेतृत्व प्यासीबाट भएको थियो । क्रान्तिको अगुवाई र पञ्चायति व्यवस्थाको विरोधका आन्दोलनहरुमा प्यासीले दर्जनौपटक जेलजीवन बिताएका थिए। ०३२ देखि ०३४ सालसम्म मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, पाल्पा, पोखरा र नख्खु जेलमा गरी करिब ३ वर्ष काराबास जीवन व्यतित गर्नुपरेको थियो।

पोखरा र पश्चिमाञ्चल क्षेत्रबाट विद्यार्थी राजनीति आन्दोलनको नेतृत्व गर्दै पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्दै प्यासीले शिक्षण पेसालाई विभिन्न कालखण्डमा छाड्दै निरन्रतरता दिँदै आएका थिए।

०३६ सालमा अनेरास्ववियु कास्की जिल्ला कमिटीको अध्यक्ष भएका प्यासी पश्चिमाञ्चल क्षेत्रीय कमिटी अध्यक्ष हुँदै ०३७ सालमा विद्यार्थी संगठन अनेरास्ववियुकै पाँचौ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटी उपाध्यक्षमा निर्वाचित भएका थिए। उनलाई पार्टीले पश्चिमाञ्चल क्षेत्रको विशेष जिम्मेवारी समेत सुम्पिएको थियो।

विभिन्न भूमिका र जिम्मेवारीले आफ्नो राजनीतिक कद उचो बनाएका प्यासी ०३७ देखि ०३९ सम्म तत्कालिन नकेपा (माले) इलाका कमिटी कास्कीको सचिव थिए । ०४३ सालमा नेकपा (माले)का तर्फबाट पार्टीले लिएको पञ्चायतको उपयोग नीतिलाई लागु गर्ने गरी जनपक्षीय राष्ट्रिय पञ्चायत सदस्यमा कास्की जिल्लाबाट अत्यधिक मतले निर्वाचित भएका थिए।

मनमोहन अधिकारी नेतृत्वको नेकपा माक्र्सवादी र मदन भण्डारी नेतृत्वको नेकपा (माले) एकिकरण भई ०४७ मा एक भई नेकपा एमाले भएपश्चात्त उनी ०४८ साल अञ्चल कमिटी सदस्य भएका थिए। लगत्तै ०४८ मा एमाले कास्की उपसचिवको जिम्मेवारी पाएका थिए।

०४८ मै बहुदल स्थापना पश्चात्त कास्की जिल्ला क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा प्यासी निर्वाचित भएका थिए। त्यससमयमै उनी ०४९ सम्म नेकपा एमाले संसदीय दलको सचिव चुनिएका थिए।

०५४ मा नेकपा एमाले विभाजित हुनु अगावै प्यासी राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्षमा मन्त्रीपरिषद्बाट मनोनयन भएका थिए २०५१ मा । ०५२ मा एमाले चौथों जिल्ला अधिवेशनबाट कास्कीको सचिवमा निर्वाचित भए । ०५४ मा पार्टी विभाजित भएपश्चात्त पनि उनी पुर्नगठित जिल्ला कमिटी एमालेको सचिव नै भएका थिए।

विभिन्न मितिमा नेकपा एमाले कास्की जिल्ला कमिटीको सचिव बनेका प्यासी ०६७ साल पौष १७ गते अञ्चल कमिटीको सचिव भए । ०६८ साल फागुन २१ गते एमाले राष्ट्रिय प्रतिनिधि परिषद्बाट केन्द्रीय निर्वाचन आयोगको सदस्यमा निर्वाचित भए । त्यसको ४ दिनपछि फागुन २१ गते नै केन्द्रीय निर्वाचन आयोगको प्रथम बैठकबाट केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा निर्वाचित बनेका थिए।

प्यासी एमालेको नवौं महाधिवेशन पछि स्थायी किमिटी सदस्य भए। तत्कालिन माओवादी केन्द्र र नेकपा एमालेको एकिकरण पछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी आमन्त्रित सदस्य छन्।

राजनीतिक निरन्तरतासँगै प्यासीले सामाजिक संस्थाहरुसमेत आफ्नो उपस्थिती बनाइराखेका थिए। पोखरा विश्वविद्यालयको सभासद, पृथ्वीनारायण क्याम्पसको सञ्चालक समिति, विन्ध्यवासिनी माविको व्यवस्थापन समिति अध्यक्ष, सोही क्याम्पसको अध्यक्ष गरी उनले दुई कार्यकाल भूमिका निभाइसकेका छन्। अब भने उनी प्रदेश प्रमुखको भूमिका छिटै देखा पर्ने भएका छन्।

कात्तिक १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्