त्रिवि क्रिकेट मैदानमा दर्शकहरुबाट एक्लिएका सन्दीप लामिछाने

काठमाडौँ- विश्व क्रिकेटले विश्वका उत्कृष्ट क्रिकेटरका रुपमा स्विकारेका खेलाडी हुन् नेपालका सन्दीप लामिछाने। लामिछानेले पछिल्ला दुई वर्षमा विश्वका सबै नाम चलेका व्यावशायिक क्रिकेट खेलेका छन्। अधिकांश प्रतियोगितामा उनी टोलीको पहिलो रोजाइका खेलाडी थिए।

जहाँ जहाँ उनी पुगेका छन्- नेपालको नाम चम्किएको छ। इङ्ल्यान्डमा आगामी वर्ष हुने सय बलको क्रिकेट प्रतियोगिताका लागि भर्खरै सम्पन्न अक्सनमा दोस्रो बढी मूल्य पाउने खेलाडीको सूचीमा रहेका सन्दीपलाई सहभागी टोलीहरु आबद्ध गर्न इच्छुक देखिए।

विज्ञापन

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आइसिसीका एसोसिएट सदस्यहरुमाझ नेपाल माथि उठ्न संघर्षरत भइरहेका बेला सन्दीप नेपाली क्रिकेटको क्षमता बनेर विश्वमाझ अगाडि देखिएका छन्।  ‘मास सपोर्ट’ रहेको नेपाली क्रिकेटमा  सन्दीपको चर्चा हुनु र उनको पछाडी समर्थकको भिड रहनु अब नौलो विषय रहेन।

तर सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा देखिएको दृश्य सन्दीपको पछिल्लो यो सफलता र चर्चासामु खल्लो बनाउने किसिमको थियो।

जे देखियो  

कीर्तिपुर खेल मैदानमा सोमबार पारस खड्का।

विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलिबोन-एमसिसीसँग नेपालको सिनियर टोलीले मैत्रीपूर्ण एकदिवशीय खेल खेल्दै थियो। यस खेलका लागि घोषणा गरिएको टोलीमा केही समय अघि कप्तानबाट राजिनामा दिएका पारस खड्कादेखि सन्दीप लामिछानेसम्म थिए।

अर्थात, टोली पूर्ण थियो। तर मैदान उत्रने ११ सदस्यीय खेलाडीको सूचीमा न पारसको नाम थियो, न सन्दीपको।

नेपाली क्रिकेटलाई आजको अवस्थासम्म ल्याउन १० वर्ष सिनियर राष्ट्रिय टोलीको नेतृत्व गर्ने पारस राष्ट्रियस्तरमा सन्दीपभन्दा बढी चर्चित खेलाडी हुन्, खासगरी उनको योगदानका हिसाबले। उनलाई नेपाली क्रिकेटकै महान् खेलाडी भनेर बुझ्ने जमात पनि ठुलो छ।

क्रिकेटको मक्का भनेर चिनिने इङ्ल्यान्डको लर्ड्स मैदानमा रहेको क्लब एमसिसीले मैत्रीपूर्ण खेलका लागि बलियो टोली नै ल्याएको थियो। तर पारस र सन्दीप मैदान बाहिर बसे। पारसले प्लेयर बक्समा रहेर टोलीको खेल हेरिरहेका थिए।

ट्रयाक सुट लगाएर आएका सन्दीप भने नेपाली टोलीको सम्पर्कबाहिर थिए। उनी मैदानको बाहिर रहेको नेट प्राक्टिस क्षेत्रमा  साथीहरुसँग गफिइरहेका थिए। उनले केहीबेर नेट प्राक्टिस गरेजस्तो गरे। बलरलाई ब्याट्सम्यान बनाएर उनले नेटमा गरिरहेको बलिङ रंगशालामा उपस्थित सबैका लागि अनौठो लाग्ने थियो। लाग्थ्यो- वरिपरि के भइरहेको छ, त्यसबारे सन्दीप बेखबर छन्।

‘टोलिमा रहेको खेलाडी त्यसरी बाहिर बस्नु पटक्कै राम्रो होइन त्यसमा पनि एमसिसीजस्तो क्लबसँग खेलिरहेको समयमा। यसले के सन्देश दिन्छ भन्ने हो’, नेपाली क्रिकेटमा लामो समयदेखि आबद्ध एक अधिकारी भन्छन्।

खेल सकिन लाग्दा सन्दीप पाहुना बस्न बनाइएको टेन्टमा आएर बसेर खेल हेरे। नजिकै रहेको तारले छेकेको पर्खाल पारी नेपाली टोलीको प्लेयर बक्स थियो। खेल सकिएपछि सबै खेलाडी तल उत्रिए। आपसमा बधाई आदान प्रदान गरे। सन्दीप पनि तल ओर्लिए। पारस पनि तल ओर्लिए। खेल हेर्न उपस्थित १५००/२००० दर्शक ठाउँ छाड्दै थिए।

यत्तिकैमा १५०/२०० जनाको दर्शक समूह प्लेयर बक्स नजिकै रहेको दर्शक दिर्घा बस्ने ठाउँमा आएर नेपाली खेलाडीको नाम लिँदै हुटिङ गर्न थाले। शरद भेषावकर नजिकै गएर उनिहरुसँग सेल्फी लिए। त्यसपछि सोमपाल कामी पनि पुगे। उता पारस प्लेयर बक्समा उक्लिसकेका थिए। सन्दीप मैदानमा एक्लै टोलाइरहेका थिए। खेल खेलेका केही खेलाडी मैदानमा एक्सरसाइस गर्दै थिए।

यत्तिकैमा नजिकै रहेका दर्शक दिर्घाबाट ‘ पारस दाई…पारस दाई’ भन्दै सेल्फीका लागि आग्रह भयो। तीमध्ये केहीले मन नलागीजसरी सन्दीप….सन्दीप भनिरहेका थिए।  सन्दीप नसुनेजस्तै गरी सफा भइरहेको मैदानको क्रिजतर्फ एक्लै लागे।

मैदानको बीचमा पुगेर उनी त्यहाँ काम गरिरहेकाहरुसँग बोल्न खोज्दै थिए। यता पारसलाई सेल्फीका लागि लगातार आग्रह भइरहेको थियो। सन्दीप घरिघरि हुटिङ गरिरहेको दर्शक दिर्घातर्फ हेरेर तुरुन्तै वास्तै नगरेजस्तो गर्थे। पारस नउत्रिएपछि ती दर्शक एमसिसीका खेलाडीलाई बोलाउँद सेल्फी लिन थाले। एमसिसीका खेलाडीको नामै लिएर हुटिङ गर्न थाले। केहीबेरपछि नेपाली टोलीका नयाँ कप्तान ज्ञानेन्द्र मल्ल त्यहाँ पुगेर सेल्फी दिए।  पारस भने तल उत्रिएनन्।

फ्यानसँग रुस्ट सन्दीप र फसादमा परेका पारस 

सन्दीपले केही साता अघि सम्पन्न भएको क्यारेबियन प्रिमियर लिग क्रिकेट खेलिरहेका बेला नेपाली सन्चार माध्यममा एउटा समाचार सार्वजनिक भएको थियो जसको आशय थियो- सन्दीपले पारसलाई ट्वीटर र इन्स्टाग्राममा ‘अनफलो’ गरे। पारस र सन्दीपको सम्बन्ध बिग्रियो।

सामाजिक सन्जालमा नेपाली क्रिकेट समर्थकले सन्दीपको उछितो काटे। सन्दीपले आफ्नो धरातल बिर्सिएकोसम्मका टिप्पणीहरु भए।

त्यसपछिका दिनहरुमा दुवैले आपसको सम्बन्ध नबिग्रिएको देखाउने प्रयास गरे, केही सञ्चार माध्यमसँगको कुराकानीमार्फत। तर आइतबार कीर्तिपुर क्रिकेट मैदानमा नेपाली क्रिकेट समर्थकसँग सन्दीपको झगडा हुन सक्नेसम्मको अवस्था देखियो।

सन्दीपलाई बाहिर देख्ने वित्तिकै समर्थकहरु ‘ पारस दाइलाई फलो गर’ भन्दै नाराबाजी गर्न थाले। लगातारको नाराबाजीपछि सन्दीप आक्रोशित देखिएका थिए। सायद, यसैलाई संकेत गरेको हुन सक्छ सन्दीपले आइतबार राती गरेको ट्वीटमा लेखिएको थियो- सुर्य एक्लै हुन्छ तर पनि चम्कन्छ।

सोमबारको अवस्था पनि यस्तै देखियो।

उनी नेटमा प्राक्टिस गर्दा होस् या मोबाइलमा कुराकानी गरिरहँदा, मैदानमा एमसिसी र नेपालबीच खेल भइरहेको थियो तर दर्शक ‘ पारस दाइलाई फलो गर’ भन्दै नाराबाजी गरिरहेका थिए। यही कारण सन्दीप एक्लै बसिरहनु पर्‍यो भने पारस समर्थकसँग पुगेर सेल्फी दिने अवस्था देखिएन।

कार्तिक १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्