कालंगा हाइड्रोको सुरुङमा फसेका तीन मजदुरको मृत्‍यु

फाइल फोटो

धनगढी-बझाङको बुंगल नगरपालिकामा निर्माण भईरहेको कालंगा हाईड्रोपावरको सुरूङ भित्र फसेका चार जना मजदुर मध्य तीनजना मृत फेला परेका छन्।

उद्धार गर्न घटनास्थल पुगेको सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट चार जना र दिपायल डोटी बाट पाँचजनाको विषेश टोलीले तीन जना मजदुरलाई मृत फेला पारेको बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेयले जानकारी दिए। उनका अनुसार तिनै जनाको शव करिब एक किलो मिटरभित्र फेला परेको छ।

विज्ञापन

चार मध्य बाँकी एक जना सुरुङभित्रै फसेका तर नभेटिएको बुझिएको छ। आईतबार दिउसो सुरुङ भित्र काम गर्नका लागि गएका दैलेख जिल्ला गुराँस गाउँपालिका वडा नम्बर ३ घर भएका ३२ वर्षीया महेन्द्र शाही, सोही गाँउमा कर्ण शाही र अछाम जिल्ला तुर्माखाँद गाउँपालिका वडा नम्बर ६ का २८ बर्षिया महेन्द्र साँउद र बझाङको बुंगल नगरपालीका वडा नम्बर १ का ३५ बर्षिया शेर सिंह धामी फसेका थिए।

उनीहरु सुरुङभित्र ट्याक्टर समेत लिएर गएका थिए।सुरुङभित्र अक्सिनजको मात्रा निकै न्यून रहेको र हाइकेमिकल ग्यासको मात्रा बढी भएका कारण सुरुङभित्र लामो समय बस्न कठीन भएको उद्धार टोलीले जनाएको छ।

यता, शव बाहिर ल्याउनका लागि फेरि टोली सुरुङ भित्र पस्ने तयारी गरिरहेको छ। विपद व्यवस्थापक र उद्धार तालिम प्राप्त प्रहरी निरीक्षक सहित गरी नौ जनाको टोली उद्धारका लागि सोमबार दिउसो साढे २ बजे घटनास्थलमा पुगेको थियो।

आइतबार दिउँसो सुरूङभित्र काम गर्न ६ जनाको टोली पसे पनि दुईजना भने श्वासप्रश्वासमा समस्या भएको भन्दै सुरुङको विचबाटै बाहिर निस्किएका थिए। आठ सय मिटर लामो सुरङमा अक्सिजनको अभाव हुँदा उद्दारमा कठिनाइ भएको थियो।

कार्तिक १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्