तिलक परियारको यात्रा: खरिदारदेखि प्रदेश प्रमुखसम्म

नेपालगञ्‍ज-बाँकेका पुराना कम्युनिष्ट नेता तिलक परियार प्रदेश प्रमुखमा सिफारिस भएका छन्।

विचारमा प्रतिबद्ध र सरल व्यवहारका धनी परियार कम्युनिष्ट आन्दोलनको ‘सिनियर लिडर’ मानिन्छन् । मसालको दिल्ली कमिटिको सचिव भइसकेका परियार डा. बाबुराम भट्टराईलाई पार्टी सदस्यता दिनेमध्येमा पर्छन्।

विज्ञापन

दलितले कमै पढ्ने बेलाका ‘ब्याचलर’ परियार शिक्षक पनि भए। पार्टीमा परियारको राजनीतिक यात्रा एकनासको भएन, उकाली–ओराली रह्यो। तत्कालिन माओवादीको सचिवालय सदस्यसम्म भएका परियार गिरिजाप्रसाद कोइराला सरकारले माओवादीलाई अन्तरिम व्यवस्थापिका संसदमा ८३ सीट दिंदा सांसद भएका थिए।

२०६४ को पहिलो संविधानसभा चुनावमा बाँके क्षेत्र नं १ बाट १६ हजार ८७ मत ल्याउँदै परियार विजयी भएका थिए। पार्टीको भातृ संगठन दलित मुक्ति मोर्चाको अगुवा रहेका परियार माओवादी पार्टी टुक्रा–टुक्रा हुँदा गुमनामझै भएका थिए।

शुरुमा मोहन वैद्यको पार्टीमा लागेका परियार पछि विप्लव माओवादीमा प्रवेश गरे। विप्लव माओवादीबाट विद्रोही माओवादी पार्टी बनाएका परियार माउ पार्टी माओवादी केन्द्रले स-साना ९ वटा घटकलाई मिलाउँदा फर्किएका थिए।

छोरा जंगबीरका अनुसार सशस्त्र युद्धको क्रममा २०५४ सालमा पक्राउ परेका परियार २०५८ सालको हापुरे वार्ताका क्रममा छुटेका थिए। त्यसपछि परियार पहाडी जिल्ला रुकुमतिर पार्टीकै काममा बसे। परियारले भारतमा पढेका हुन्।

भारतमा काम गर्दै पढेका थिए । पढ्दा उनी एउटा कम्पनीमा सुपरभाइजर थिए। एसएलसी पास पछि रोल्पा फर्किएका परियारले केही समय भूमि सुधार कार्यालयमा खरिदारको काम गरे । त्यसपछि उच्च शिक्षा पढ्न फेरि भारत फर्किए।

रोल्पामा शिक्षक पनि भए । रोल्पाबाट शुरुमा बाँकेको राप्तीसोनारी गाउँपालिकाको विनौनामा बसाइ सरेका परियार परिवार २०५० सालपछि कोहलपुर आएका थिए।

दुई पटक सांसद भएका परियारलाई नेकपाको सचिवालय बैठकले प्रदेश प्रमुखमा सिफारिस गरेको हो। परियारको परिवार अहिले कोहलपुर–१२, निबुवामा बस्छन्। कम्युनिष्ट राजनीतिका ‘पाका’ परियारलाई प्रदेश प्रमुखमा सिफारिस गरिदा बाँकेवासी खुशी भएका छन्।

सांसद महेश्वर गहतराजले पार्टीले सिनियर व्यक्तित्वलाई सम्झिएको बताए। ‘परियारको कम्युनिष्ट पार्टीमा ठूलो योगदान रहेको छ। उहाँ सिनियरमध्येमा पर्नुहुन्छ।

दुई पटक सांसद भइसकेका परियारलाई पार्टीले प्रदेश प्रमुख बनाएर राम्रो काम गरेको छ’, सांसद गहतराजले भने, ‘यो निर्णयले बाँकेवासीमा खुशीयाली थपेको छ।’

कार्तिक १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू