प्रदेश प्रमुख सिफारिसमा नेता नेपालको आपत्ति, लिखित असहमति दर्ता गर्ने तयारी

काठमाडौँ— सरकारद्वारा २४ घण्टाभित्र भएका सातै प्रदेश प्रमुखहरुको विवादित शैलीमा बर्खास्ती र नियुक्तिका लागि नाम सिफारिस गर्ने निर्णय पार्टीको विधि र प्रक्रियासम्मत नभएको भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन्।

उक्त असन्तुष्टि लिखितरुपमा पार्टी सचिवालयमा दर्ता समेत गर्ने तयारीमा रहेका नेपालले आफूसँग छलफल नगरी एकलौटी ढंगबाट प्रदेश प्रमुखहरु चयन गरिएको भन्दै असन्तुष्टि जनाएका हुन्। त्यसबाट आफू फेरि एकपल्ट नेतृत्वबाट अपमानित भएको उनले बताएका छन्।

आइतबारको मन्त्रिपरिषद् बैठकको शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका सात प्रदेशहरुको पदमुक्तको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै अनुमोदन गरेपछि सोमबार बसेको नेकपा सचिवालय बैठकले ती पदपूर्तिका लागि सात जना नेताहरुको नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

बैठकले झापाबाट बिष्णु प्रसाईं, सिरहाबाट धर्मनाथ यादव, चितवनबाट अमिक शेरचन, कास्कीबाट सोमनाथ प्यासी, बाँकेबाट तिलक परियार, काठमाडौंबाट कर्णाली प्रदेशका लागि शर्मिला त्रिपाठी र डडेलधुराबाट गोविन्द कलौनीको नाम प्रदेश प्रमुखहरुमा सिफारिस गरेको हो।

तर बैठकले कसलाई कुन प्रदेशमा सिफारिस गरेको भन्ने खुलाएको छैन। तर प्रदेश प्रमुखहरुमा सिफारिस गर्ने बेला आफ्नो समूहबाट पेस गरिएका कसैको पनि नाम नपारेको र त्यसबारे छलफल समेत नगरेको भन्दै नेता नेपालले सचिवालय बैठकमै असन्तुष्टि जनाएका थिए।

आफ्नो असन्तुष्टि लिखितरुपमा दर्ता गर्नका लागि आफ्ना पक्षका नेताहरुसँग उनले छलफल तीव्र पारेका छन्।

सचिवालय बैठकमा नेपालले आफ्नो समूहबाट नाम पेश गर्ने तयारी गरिरहेका बेला अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको नाम महासचिव बिष्णु पौडेलले प्रस्ताव गरेका थिए।

यस्तै नेपाल निकट एवं नेकपा केन्द्रीय सदस्य तथा विदेश विभागका उपप्रमुख बिष्णु रिजालले प्रदेश प्रमुख नियुक्तका क्रममा कर्णाली प्रदेशलाई उपेक्षा गरिएको भन्दै सार्वजनिकरुपमा आपत्ति जनाएका छन्।

उनले ट्वीटमार्फत अन्यत्र मेयर हारेकाको पनि योग्यता पुगेको तर कर्णालीलाई योग्यता पुग्न के के चाहिने हो भन्दै प्रश्न गरेका छन्।

विरामी समेत रहेका प्रधानमन्त्री ओलीले हताहतार हतार प्रदेश प्रमुखको बर्खास्ती र नियुक्तिको सिफारिस गर्दा उनी, राष्ट्रपति भण्डारी र उनका प्रमुख सल्लाहाकार विष्णु रिमालबीच पूर्व सहमति भएको आशंका गरिएको छ।

यसैबीच बैठकमा अनुपस्थित झापा पुगेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि प्रदेश प्रमुखहरुको नाम सिफारिस गर्ने काम पार्टीको नभएको टिप्पणी गरेका छन्।

कात्तिक १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्