सिमकोट विमानस्थलमा टिकट नपाएपछि यात्रु हैरानीमा

सिमकोट- सिमकोट बिमान स्थलमा दुई सयभन्दा बढी यात्रुहरु हवाई जहाजको टिकट नपाएर हैरानीमा परेका छन्।

अरु बेला दैनिक दजनौं उडान भर्ने एयरलाईन्सका जहाजहरुले दशै यता दैनिक एक देखि दुई उडान मात्र भर्दा सिमकोटबाट नेपालगंज झर्ने यात्रुहरु बढी भएपछि ती यात्रुहरुले टिकट पाउन कठिन भएको हो।

विज्ञापन

पाँच दिन देखि एयरलाईन्सको कार्यालयमा धाउँदा धाउँदा टिकट पाउन नसकेको यात्रु तुला बोहराले बताएका छन्। हाल काठमाडौंमा अध्ययन गर्दै गरेका उनले टिकट नपाएकै कारण झर्न नपाएको र अझै कहिले टिकट पाउने हो एकिन नभएको बताए।

अर्का यात्रु रामचन्द्र बुढाले पनि ६ दिनदेखि टिकट नपाएको गुनासो गर्दै सिजनमा सिमकोट बिमान स्थलमा दजर्नौ उडान भर्ने नीजि एयरलाईन्सहरुले अहिले दैनिक एक उडान भर्दा यात्रुहरुले निक्कै सास्ती खेपि रहेका छन्। यतिखेर दैनिक रुपमा एक देखि तीन वटासम्म जहाजहरुले उडान भर्ने गरेका छन्।

सिमकोटबाट नेपालगंज झर्ने यात्रुहरुको संख्या तीन सय भन्दा बढी देखिएको छ। अझै टाढा टाढा गाउँबाट यात्रुहरु आउने क्रम जारी रहेको छ।

दशै तिहार सकिए लगत्तै हुम्लाबाट नेपालगंज र सुर्खेतको यात्रा गर्ने यात्रुहरुले टिकट नपाएर सिमकोट बिमान स्थलमा सास्ती खेप्नुको कारण भने नीजि एरलाईन्सका जहाजहरु सबै काठमाडौं केन्द्रित भएपछि नेपालगंजबाट सिमकोटका लागि कम उडान हुँदा यात्रुहरुले हैरानी खेप्नु परेको नागरिक समाजका अध्यक्ष गणेश महतले बताए।

आफुलाई सासद र मन्त्रीकासम्म टिकटको ब्यवस्था गर्नका लागि फोन आएपछि आफुले केही गर्न नसकेको प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले बताईन। एक जना बिरामीको सिफारिस गर्दा पनि नीजि एयरलाईन्सहरुले टिकट दिन नमानेको उनको गुनासो छ।

बिहान छ बजे नै तारा र समिट एयरका कार्यालयमा यात्रुहरुको निक्कै घुइचो लाग्ने गरेको छ तर टिकट केश १४ देखि १८ जनाले मात्र पाउने भएको हुँदा अरु सबै यात्रुहरुलाई रित्तै फर्कनुको बिकल्प नभएको उद्योग बाणिज्य संघका बिमान स्थल प्रतिनिधि टेक बहादुर रोकायाले बताए। अर्को दिन पाउछ किन भन्ने आशामा फेरी एयरलाईन्सका कार्यालयमा धाउनेको भिड ठुलै हुने गरेको छ।

दशै यता तारा एयरले दैनिक एक देखि दुई उडान भर्ने गरेको भए पनि अन्य समिट र सिता एयरका जहाजहरुले भने अक्कल झुक्कल उडान भर्दा यो समस्या आएको हो। यी जहजाहरु एप्तामा एक दिन नेपालगंज सेक्टर र बाँकी दिन काठमाडौं फिर्ता हुने गरेका छन्।

सिमकोटबाट नेपालगंजका लागि प्रति टिकट छ हजार रुपियाँ भाडा लाग्ने गरेको छ। भाडा महंगो भएपनि सडक यातायात नजोडिएको कारण हुम्लाबाट बाहिर जानु पर्ने यात्रुहरुलाई हप्तौ कुरेर भएपनि तिनै हवाई जहाज चड्नुको बिकल्प छैन।

अहिले सिमकोटबाट नेपालगंज र सुर्खेत झर्ने यात्रुहरुमा बिशेष गरि विद्यार्थी र कर्मचारी रहेका छन्।

कार्तिक १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्