कम्युनिष्टले आफ्नो रबैयामा नसुधारे फेरि आन्दोलन हुन्छ: उपसभापति निधि

जनकपुरधाम-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघ सरकारले संघीयता मास्नतर्फ उद्दत रहेको भन्दै संघीय प्रणालीमाथि आक्रमण नगर्न चेतावनी दिएका छन्।

धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा सोमबार आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा निधिले सरकारले आफ्नो हरेक कदम संविधान र संघीयताविपरित चलिरहेको पूनः भनेका छन्।

विज्ञापन

कम्युनिष्ट संघियता विरोधी रहेकोले अहिले देश कम्युनिष्टको हातमा गएको अवस्था खराब भएको निधिले भनेका छन्।

उनले भने, ‘अहिले संघीयता र लोकतन्त्र नरुचाउनेहरुको हातमा सत्ता पुगेको छ।’ कम्युनिष्ट सरकारको कारण संविधान र संघीयतामाथि खतरा रहेको उनले आरोप लगाए।

नेपाली जनताले आफ्नो ज्यानको आहुति दिएर मुलुकमा संघीयता स्थापना गरेकोले संघीयता विरोधी कुनै कदम जनतालाई सह्य नहुने उपसभापति निधिले बताए।

केपी ओली नेतृत्वको वर्तमान सरकार लोकतन्त्र समाप्त पारेर संविधानलाई रद्दीको टोकरीमा फ्याल्ने प्रयत्‍न गरिरहेकोले निरंकुश राणा र राजाविरुद्ध लडेको कांग्रेस अब कम्युनिष्ट सरकारविरुद्ध लडन तयार रहेको बताए। उनले आन्दोलनको लागि तयार रह्न सबैलाई आग्रह समेत गरे।

कार्तिक १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्