जाँदा-जाँदै निवर्तमान प्रदेश प्रमुख कुँवरले भने, ‘मनको कुरा मनमै रह्यो’

पोखरा-मन्त्रिपरिषद्को आइतबार साँझको निर्णयले एक तरंग ल्यायो। तत्कालिन कांग्रेस सरकारले २० महिना अघि नियुक्त गरिएका सातै प्रदेशका प्रमुखहरु पदमुक्त भए।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी मार्फत पदमुक्त गरिएकामध्ये एक गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर पनि हुन्। उनी हिजोदेखि नै निवर्तमान भइसकेका छन्।

विज्ञापन

जाँदा जाँदै यत्तिका समयसम्म सहकार्य गरिरहेका र भातृत्व साटेका सबैसँग जमघट गरेर बिदा माग्ने मेसो मिलाए आज सोमबार। प्रदेश प्रमुखको सचिवालय मार्फत प्रदेशका मन्त्रीहरु, सभासद, स्थानीय तह प्रमुख र पत्रकारहरु कार्यक्रमका लागि डाकिएको लेकसाइडस्थित टिका रिसोर्टको सभाहलमा उनी आउनु अगावै उपस्थित भइसकेका थिए। सधैं झैं उस्तै चम्किलो र प्रसन्न मुद्रामा उपस्थित बाबुराम कुँवर हलमा पनि पूर्ववत् रुपमै उपस्थित भए।

‘फेरी भेट मिल्ला नमिल्ला, जीन्दगी जिइरहँदाखेरी शेष जीवनमा एउटै ठाउँमा, कुना कन्दरामा भेट हुन सकिन्छ सकिदैन। के ठेगान छ र,’ सम्बोधनपछि यसो भनिरहँदा उपस्थित सबैको ध्यान उनितिरै खिचियो,’ ‘केही दिन सँगै बस्दा, काम गर्दा ‘त्यो’सँग, ‘तिनीहरु’सँग एक किसिमको लगाव हुन्छ। परिस्थिति कहिलेकाहीं यस्तो पनि आउँछ कि कहिलेकाहीं मानिसहरु माया बोकेर फर्किन्छन्। कहिलेकाहीं दिल सफा राखेर फर्किन्छन्।’

प्रदेश प्रमुखबाट पदमुक्त भइसकेपछि पनि आनन्दित र प्रफुल्लित रुपमै आफू उभिएको उनले बताए। ‘म भित्र कुनै तृष्णा छैन। प्यास छैन। कुन्ठा पनि छैन। छ भने एउटै कुरा हो – अनुशासन,’ उनले भने।

सरकारले पदमुक्त गरेको विषयमा निवर्तमान प्रदेश प्रमुख कुँवरले खुलेरै विरोध नगरेपनि संकेत भने गरे।देश चलाउन संविधान र कानुनको जरुरत हुन्छ भन्दै संविधानबमोजिम भइरहेको क्रियाकलाप ठिक छन् वा छैनन् भन्ने कुराको असन्तुष्टि जाहेर गर्न पाउनु लोकतान्त्रिक गणतन्त्रको ‘मेजेस्टिक क्यारेक्टर’ भएको सुनाए।

संविधान जारी भइसकेपश्चात्त कार्यान्वयनको पहिलो फेजमा संवैधानिक आवश्यकताले आफू प्रदेश प्रमुख नियुक्त भएको उनले बताए। ‘संविधानले प्रदेशको निर्वाचन भइसकेपछि निर्वाचनलाई पनि बुझाउने व्यक्तित्व र संवैधानिक अंगका रुपमा प्रदेश प्रमुखको खोजी भइरहेको थियो,’ उनले भने, ‘त्यहीँ सन्दर्भमा चाहेर–नचाहेर, इच्छा भएर–नभएर, कसैको अभिलाषा पनि थियो होला, कसैलाई कर पनि थियो होला, त्यो आफ्नो ठाउँमा छ। तर, संवैधानिक उत्पत्ति पक्का थियो।’

मानिसको जीवनभित्र कुनै राम्रो वा नराम्रो क्षणले असल र खराब क्षणको प्रतिक्षा हुने उनले तर्क गरे। ‘इन्डियामा म पढ्दाखेरि म सुन्ने गर्थें, ‘कभी अच्छा होता हैं बुरा के लिए, कभी बुरा होता हैं अच्छाके लिए,’ उनले भने, ‘नेपाल सरकारको हिजोको निर्णयले मलाई कतै पनि घोचेको, अप्ठेरो स्थितिको सामना गर्नुपरेको अथवा बुरा लागेको छैन। बुरा लाग्दा पनि राम्रै हुन्छ, नलाग्दा पनि राम्रै हुन्छ।’

मानिस कहिले पदमा त कहिले सामान्य नागरिक हुने भन्दै सामान्य नागरिक हुँदा नै मजा हुने उनले बताए। ‘पदमा बस्दाको मजा अर्कै छ। नमज्जा पनि अर्कै होला ! यहाँ त जिन्दगीकै ठेगान छैन, पदप्रतिष्ठाको कहाँ ठेगान छ ? हामी सबैले बुझ्नुपर्ने कुरा हो। सबैचिज क्षण भंगुर। यही नबुझ्नाले मान्छेहरु दुखी हुन्छन्। रुन्छन्। पछिबाट पछुताउँछन्,’ उनले भने।

प्रदेश प्रमुखको हैसियतमा काम गरिरहँदा सबैको सहयोगको ऋणि रहेको सुनाउँदै निवर्तमान प्रदेश प्रमुख कुँवरले संघीयता कार्यान्वयनको प्रारम्भिक अवस्थामा भने एउटा कुरा मनमै रहेको सुनाए।

‘प्रारम्भिक अवस्थामा एउटा मेरो मनको कुरा मनमै रह्यो। म बाँचुञ्जेल एउटा कुरा अनुभूत गरिरहने छु,’ उनले भने, ‘संविधान जारी हुँदा नेपाली कांग्रेसको नेतृत्वमा तत्कालिन एमाले मिश्रित सरकार थियो।

त्यतिबेला जुन साथीहरु थिए अहिले ती सबै संघीय सरकारको मन्त्री हुनुहुन्छ। साथीभाइको हैसियतले धेरै पटक अनुरोध गरे। प्रदेशको उन्नति, प्रदेश प्रस्फुटित, त्यतिबेला हुन्छ, जतिबेला यसलाई सम्पूर्ण रुपले स्वायत्त छोडिन्छ। यसमा लगाम लगाउने काम नगर्नुस्।’

प्रदेशलाई लगाम लगाइयो भने संघीयता कार्यान्वयनमा बाधा पुग्ने महशुस आफूले गरेको उनले बताए। प्रदेश प्रमुखको हैसियतमा रहेर पद्धति र प्रणाली स्थापित हुनुपर्छ भन्ने मान्यता राख्दै आएको समेत उनले प्रष्ट्याए। प्रदेश सरकारबाट लिगल इन्टरटेन जनताले गर्न नसकेको संघीय मन्त्रिहरुलाई सुनाउँदै आएको उनको भनाई थियो।

निवर्तमान प्रदेश प्रमुख कुँवरले जाँदाजाँदै आफू पुरानै पेशामा फर्किने बताए। ‘सम्भवतः म पुरानै पेशामा फर्किन्छु, कुनै किसिमले आफ्नो पेशा सम्हाल्छु,’ उनले भने।

कार्तिक १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू