गृहमन्त्रीकै उपस्थितिमा सुरक्षा समितिको बैठक चलिरहँदा विप्लवका पोस्टर

बुटवल – प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा प्रदेशस्तरीय सुरक्षा समितिको बैठक जारी छ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, गृहसचिव प्रेमकुमार राई, सुरक्षा निकायका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरू सहभागी छन् ।

दुई दिने बैठकमा उपनिर्वाचनको सुरक्षा, प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको दबदबा, तराईमा बढ्दो अपराध र सुरक्षा चुनौतिका बारेमा समीक्षा र आगामी कार्ययोजनाबारे छलफल चलिरहेको छ।

‘यो नियमितजस्तै बैठक हो, प्रदेशको सुरक्षा रणनीतिका बारेमा छलफल हुन्छ, सबैले आ–आफ्नो क्षेत्रको ब्रिफिङ्ग गरेपछि अहिलेसम्मको सुरक्षा अवस्थाको समीक्षा र आगामी कार्ययोजनाबारे छलफल तथा निर्णय हुन्छ’ रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने ।

तर, बैठक चलिरहेकै स्थान बुटवलमा रातारात प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले पोस्टरहरू टाँसेपछि सुरक्षा निकायलाई टाउको दुखाईको विषय बनेको छ ।

‘बुटवलमा त्यस्तो केही देखिएको छैन, विप्लवका कुनै पनि गतिविधि भएका छैनन्’ ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भीमलाल भट्टराईले दाबी गरे । तर, सोमबार राति मिलनचोकमा टाँसेका पोस्टरहरू प्रहरीले मंगलबार हटाएको छ ।

कात्तिक १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्