सिसिटिभी क्यामरा र सुरक्षा

अपराधी उम्किन दिँदैन सिसिटिभीले, प्रहरीलाई सजिलो

झापाको धुलाबारी चोकमा लगाइएको सिसिटिभी क्यामेरा।

झापा – भारत पश्चिम बंगालको सिलिगुडी घर भएका ४३ वर्षीय रघुवरप्रसाद साहलाई चोरी गरेको ठूलो परिणामको सुन र चाँदीका गरगहनासहित झापाबाट पक्राउ गरेर प्रहरीले केही दिनअघि सार्वजनिक गर्यो।

साह ५० लाख रुपैयाँ भन्दा बढी मूल्य पर्ने कारमा चढेर अर्काको गर गहना चोरी गर्ने भन्दै प्रहरी अधिकारीहरुले उनलाई ‘भिआइपी’ चोरको संज्ञा दिएका छन्।

विज्ञापन

केही महिनाअघि सिसिटिभी क्यामेराको फुटेजका आधारमा सोही व्यक्तिको स्केच इलाका प्रहरी कार्यालय काँकरभिट्टाले ‘सर्कुलेट’ गरेको थियो।

त्यही स्केचका आधारमा झापाको इलाका प्रहरी कार्यालय अनारमनीको सहयोगमा उक्त भिआइपी चोर साह प्रहरीको फन्दामा परे।

साहलाई जिल्ला प्रहरी कार्यालय झापामा गत कात्तिक १५ गते पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको थियो।

साहलाई विर्तामोड–५ बाट पक्राउ गरिएको हो। पक्राउ परेका साहले प्रयोग गरेको डब्लु बी ७४ एएम २७२४ नम्बर प्लेटको भारतीय गाडीसमेत बरामद गरिएको थियो।

गाडीबाट लाखौँ मूल्य बराबरको सुन तथा चाँदीका गरगहना, नेपाली रुपैयाँ ३८ हजार र भारतीय रुपैयाँ १३ हजार ७ सय बरामद भएको छ।

गत साउन १ गते विर्तामोडको चर्चित ‘हनी ट्र¥यापिङ्ग’ काण्डका मुख्य अभियुक्तहरुलाई पनि सिसिटिभी क्यामेराको फुटेजको सहयोगमा प्रहरीले पक्राउ गर्ने सफल भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए।

इलाका प्रहरी कार्यालय काँकडभिट्टामा नाकाको अनुगमन गर्दै उक्त कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दकुमार कार्की।

त्यसका अतिरिक्त गत असार महिनामा ठूलो संख्यामा विर्तामोडमै मोटरसाइकल चोरी गर्ने चार जनासहित १९ वटा मोटरसाइकलसमेत सिसिटिभी क्यामेराकै फुटेजका आधारमा पक्राउ तथा बरामद गर्द सफल भएको प्रहरीको भनाई छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार प्रहरी अनुसन्धान प्रविधिमैत्री बनेपछि अपराध नियन्त्रण तथा अनुसन्धानमा निकै ठूलो उपलब्धी भएको छ।

श्रेष्ठले भने, ‘प्रविधिकै कारण प्रहरीले ठूला अपराधीहरु समाउन सफल भएको छ। सिसिटिभी क्यामेरा लगाएको स्थानमा अपराधी भाग्न हतपति पाउँदैनन्।’

सार्वजनिक स्थलहरुमा सिसिटिभी क्यामेराका कारण अवाञ्छित गतिविधि गर्ने हतपति उम्कन पाउँदैनन्।

खासगरी झापाका विभिन्न सार्वजनिक स्थानमा सिसिटिभी क्यामेरा जडान भएपछि त्यस्ता गम्भीर परिस्थितिका घटनाका पात्रहरुलाई पक्रन सहज भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दकुमार कार्कीले बताए।

अहिले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा कन्ट्रोल रहने गरी ३३ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ। जसले गर्दा अपराध नियन्त्रणमा निकै सहज भएको प्रहरी नायव उपरीक्षक कार्की बताउँछन्।

उनले भने, ‘सिसिटिभी क्यामेरा जडान गर्नुको मुख्य उद्देश्य नै अपराध नियन्त्रण हो।’

कसैले गलत तर्क गर्दै अपराधी छुटाउन आएको खण्डमा सिसिक्यामेराको फुटेज देखाइदिएपछि गलती स्वीकार गर्ने गरेको कार्की बताउँछन्।

झापाका दमक, विर्तामोड, भद्रपुर, मेचीनगरलगायत स्थानमा गरी करिब दुई सय सिसिटिभी क्यामेरा जडान गरिसकिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। सिसिटिभी जडानका लागि स्थानीय तह तथा स्थानीय बासिन्दाले ठूलो धनराशीको सहयोग गरेका छन्।

कार्तिक १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्