१५ रुपैयाँको चक्कु प्रहार गरी श्रीमनले गरे श्रीमतीको हत्या

वीरगञ्ज – १९ वर्षकी निपु देवी गएको आइतबार बेलुका पर्साको जिराभवानीबाट श्रीमान रामबाबु हजरा दुसादसँग माइती जाँदै थिइन् भारतको बेलिया वरवा पञ्चायत–१० भंगवा ।

दिदीको गौना हुने भएकाले १९ वर्षकी निपु २८ वर्षका श्रीमान रामबाबुसँगै माइत जाँदै थिइन् । तर उनी माइती पुग्न पाइनन्, बिच बाटोमा लोग्नेले उनको हत्या गरे ।

बि आर २२ एम ४५०८ भारतीय नम्बरको मोटरसाइकलमा जाँदै गरेका रामबाबु र निपुबिच बाटोमा भनाभन भयो । झगडा भइरहेका बेला रामबाबुले पेट्रोल सक्किएको भन्दै मोटरसाइकल रोके ।

पेट्रोल लिएर आउँछु भनेर गएका उनले नजिकैको पसलबाट १५ रुपैयाँमा चक्कु किनेर ल्याए । त्यही चक्कुले हानेर निपुको हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् ।

बागमोर्चा चोकबाट चक्कु किनेर फर्किएका रामबाबुले पत्नी निपुलाई सुस्ता खोलाको छेउमा लगि नजिकैको वनतुलसीको झाडीमा लडाए र चक्कु प्रहार गरी हत्या गरेका हुन् ।

श्रीमतीको हत्या गरी फरार भएका उनी पक्राउ परिसकेका छन् । उनलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए।

कात्तिक १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्