सुदूरपश्चिम प्रदेशमा पाँच जिल्लाका ७ वडामा उपनिर्वाचन हुँदै, झण्डै ११ हजार मतदाता सहभागी हुने

धनगढी– आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा सुदूरपश्चिम प्रदेशका पाँच वटा जिल्लाका सात वडामा उपनिर्वाचन हुने भएको छ।उपनिर्वाचनमा ती वडाका १० हजार ९ सय ३७ मतदाताले मतदान गर्न पाउने भएका छन्।

जिल्ला निर्वाचन कार्यालय कैलालीका निर्वाचन अधिकारी प्रेमराज भट्टका अनुसार डोटीको आर्दश गाउँपालिका वडा नम्बर–२ मा २ हजार ४ सय ५९, बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर–१ मा १ हजार २०, अछामको मेल्लेख गाउँपालिका–५ मा १ हजार ९ सय ४, कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा १ हजार १ सय ९९, बैतडीको सुर्नया गाउँपालिका–१ मा ६ सय १९, बैतडीकै पुर्चौंडी नगरपालिका–४ मा १ हजार ९ सय ९ र दोगडा केदार गाउँपालिका–४ मा १ हजार ८ सय ८ मदताता निर्वाचनमा सहभागि हुँदैछन्।

स्थानीय तहको निर्वाचन भएको दुई वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका ६ वटा वडा अध्यक्षबिहीन भएपछि उपनिर्वाचन हुन लागेको निर्वाचन कार्यालयले जनाएको छ। सुदूरपश्चिमकाे डोटीको आर्दश गाउँपालिका वडा नम्बर–२, अछामको मेल्लेख गाउँपालिकाको वडा नम्बर ५ र बैतडीको दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ४ मा वडा अध्यक्ष पदमा उपनिर्वाचन हुनेछ।

त्यसैगरी बैतडीकै पुर्चौडी गाउँपालिकाको वडा नम्बर ४ र सुर्नया गाउँपालिकाको वडा नम्बर १, कञ्चनपुरको पुनर्बास नगरपालिकाको वडा नम्बर ३ र बाजुराको त्रिवेणी नगरपालिकाको वडा नम्बर १ मा उपनिर्वाचन हुने भएको छ।

बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष गौतमप्रसाद भट्ट, सुर्नया गाउँपालिका–१ का अध्यक्ष कलसबहादुर चन्द र दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष मानबहादुर विष्टको मृत्यु भई पद रिक्त रहेको छ।

त्यस्तै डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पदमसिंह बोहरा, अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष रामबहादुर बोहरा र बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर १ का अध्यक्ष खम्म दमाईको मृत्यु भएकोले ती वडामा उपनिर्वाचन हुने भएको छ।

कञ्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समितिको प्रमुख निर्वाचित भएकाले त्यहाँ पनि उपनिर्वाचन हुने भएको छ। उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचनको विस्तृत कार्यक्रम सार्वजनिक गरिसकेको जिल्ला निर्वाचन कार्यालय कैलालीका निर्वाचन अधिकारी भट्टले बताए।

निर्वाचन अधिकृत भट्टका अनुसार निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त भएर तालिम भइसकेको र बुधबारबाट समन्धित कार्यपालिकाको केन्द्रमा निर्वाचनका कार्यालय संचालनमा आउने छन्। यसैगरी कार्तिक २७ गते उम्मेदवारको मनोनयन दर्ता र मंसिर १ गते निर्वाचनको चिह्न दिइने अधिकृत भट्टले बताए। उनले साउन १६ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता भएका मतदाताले उपनिर्वाचनमा मतदान गर्न पाउने बताए।

यसअघि साउन १६ गते निर्वाचन आयोग र विभिन्न राजनीतिक दलबीच अगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने सहमति भएको थियो। सो सहमतिअनुसार देशभर रिक्त रहेका ५१ पदका लागि उपनिर्वाचन हुन लागेको हो। निर्वाचन आयोगले आगामी मंसिरमा उपनिर्वाचन मिति तोकेसँगै मतदाता नामवालीमा नाम दर्ता गराउने काम गत साउन १६ गतेदेखि रोकिएको छ। साउन १६ गतेसम्म १८ वर्ष पूरा भएका  व्यक्तिहरुले उपनिर्वाचनमा भाेट हाल्न पाउनेछन्।

मंसिर १४ गते नजिकिदै जाँदा पाँचवटै जिल्लामा निर्वाचनका लागि राजनीतिक चहलपहल सुरु भएको छ। कतिपय वडाका लागि दलहरुले उम्मेदवार छनोट गरिसकेका छन् भने केही ठाउँमा छनोट प्रकृयामै रहेको दलहरुले बताएका छन्।

कात्तिक १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्