अमेरिका या भारत जान सक्ने

प्रधानमन्त्री ओलीको भावी उपचारबारे परामर्श तीव्र

काठमाडौँ– प्रत्यारोपित मिर्गौला फेल भएपछि दुईपटक डायलासिस गरिसकेका प्रधानमन्त्री केपी शर्मा ओलीको भावी उपचारबारे चिकित्सकहरुले आन्तरिक छलफल गर्नुका साथै मुलुकभन्दा बाहिरका अस्पताल र चिकित्सकहरुसँग परामर्श तीव्र पारिएको छ।

ओलीको तेस्रो पटक सकेसम्म डायलासिस गर्न नपरोस् भन्ने उद्देश्यका साथ औषधिबाट उनको मिर्गौलाको कार्यक्षमता बढाइएको र भावी उपचार नियमित डायलासिस या पुन : प्रत्यारोपण मध्ये उत्तम विकल्पबारे भारतदेखि अमेरिकासम्म परामर्श सुरु गरिएको बुझिएको छ।

विज्ञापन

प्रधामन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाह अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन भन्दै अमेरिका प्रस्थान गरेको दाबी गरिएपनि त्यहाँ रहँदा उनले प्रधानमन्त्री ओलीको उपचारबारे अमेरिकी चिकित्सकसँग परामर्श गर्ने सरकारी उच्च स्रोत बताउँछ।

उनी स्वदेश फर्किए लगत्तै सम्भव भए ओलीलाई थप उपचारका लागि अमेरिका लगिने छ।

यता पछिल्लो पटक भारतीय विदेशमन्त्री एस जयंशकरले नेपाल आएका बेला दोस्रो पटक मिर्गौला प्रत्यारोपण या अन्य उपचारका भारत आउन ओलीलाई आग्रह गरेको र त्यसमा सहयोग गर्ने आश्वासन दिएकाले भारतमा पनि ओलीको उपचार विकल्पबारे परामर्श सुरु गरिएको छ।

सरकारी उच्चस्रोतका अनुसार ओली उपचारका लागि पछिल्लो पटक सिंगापुर रहँदा त्यहाँका चिकित्सकले उनको पुनः मिर्गौला प्रत्यारोपण खतराणपूर्ण रहेको संकेत दिएपछि त्यसको विकल्पमा अन्य मुलुकका अस्पताल र चिकित्सकसँग परामर्श सुरु गरिएको हो।

‘डा. दिव्या अमेरिका जानु भएको छ । उहाँ चार–पाँच दिनमा आउनुहुन्छ । सम्मेलनका लागि उहाँ जानु भएको भए पनि त्यहाँ रहँदा प्रधानमन्त्री ओलीको उपचारबारे परामर्श गर्नु हुने छ । त्यसपछि मात्रै के गर्ने भन्ने निधो गरिने छ,‘ स्रोतले भन्यो।

डा. सिंह अमेरिका गएकाबारे अनविज्ञता प्रकट गरेका ओलीका अर्का निजी चिकित्सक डा. दिलिप शर्माले भने अहिले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्ता स्थिर रहेको र थप उपचारबारे चिकित्सकहरुबीच छलफल भइहरेको बताए।

‘प्रधानमन्त्रीको तेस्रो पटक डायलासिस गर्नु परेको छैन। उहाँको स्वास्थ्यको निगरानीमै छौँ हामी । अव के गर्ने भन्नेबारे पनि छलफल भइरहेको छ,’ डा. दिलिपले देशसञ्चारसँग मंगलबार भने ।

क्रेटिनाइनको मात्र बढी भएपछि र फोक्सोमा समेत पानी देखिएपछि यही कार्तिक १३ गते र १४ गते धापासीस्थित ग्रान्डी इन्टरनेशनल अस्पतालमै बसेर प्रधानमन्त्री ओलीले डायलासिस गरेका थिए।

१२ वर्ष अघि भारतको अपोलो अस्पतालमा ओलीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रत्यरोपणपछि ओलीले निरन्तर औषधि खाइरहँदा रोगप्रतिरोधात्मक क्षमतामा कमी आउँदा पटकपटक विभिन्न प्रकारका संक्रमणबाट ग्रसित भएका छन् ।

गत भदौमा सिंगापुर पुगेर उनले आफ्नो शरीरमा देखिएको एन्टिबडी प्लाज्मा फेरेसिसका माध्यमबाट हटाएका थिए।

कार्तिक १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू