च्याम्पियन्स लिग फुटबल

गोलरक्षकबाटै आत्मघाती गोल, तर हारबाट जोगियो चेल्सी

पहिलो हाफमा ३–१ ले पछि परेर पनि चेल्सीले दोस्रो हाफमा शानदार पुनरागमन गर्दै हारबाट जोगिएको छ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको समूह एच को खेलमा इंग्लिस क्लब चेल्सीले डच क्लब अजाक्सलाई ४–४ को बराबरीमा रोकेको हो ।

विज्ञापन

पहिलो हाफमा चेल्सीका दुई खेलाडीले गरेको आत्मघाती गोल र प्रोमेसले गरेको गोलबाट अजाक्सको खातामा तीन गोल भयो । चेल्सीका ट्यामी अब्राहमले दोस्रो तथा गोलरक्षक केपाले ३५ औँ मिनेटमा आत्मघाती गोल गरे । २० औँ मिनेटमा प्रोमेसले अजाक्सका लागि गोल गरेका थिए ।

पहिलो हाफमा चेल्सीका लागि चौथो मिनेटमा पाएको पेनाल्टीमा योर्गिन्होले गोल गरेका हुन् । दोस्रो हाफमा अजाक्सका दुई खेलाडीले रातो कार्ड पायो र उसले थप एक गोल गर्न सफल भयो । तर चेल्सीले थप तीन गोल गरेको हो ।

चेल्सीका लागि ६३ औँ मिनेटमा एज्पिलिकुएता, ७१ औँ मिनेटमा पेनाल्टी मार्फत योर्गिन्होले व्यक्तिगत दोस्रो गोल र ७४ औँ मिनेटमा जेम्सले गोल गरेका हुन् ।

अजाक्सका लागि ५५ औँ मिनेटमा भान डी बीकले गोल गरेका थिए । ६८ औँ मिनेटमा ब्लाइन्ड तथा ६९ औँ मिनेटमा वेल्टम्यान दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि अजाक्स ९ खेलाडीमा सीमित भयो ।

बराबरीपछि पनि अजाक्स समूहको शीर्ष स्थानमा छ, चार खेलबाट सात अंकसहित । सात अंक नै रहेको चेल्सी दोस्रो स्थानमा झरेको छ ।

समूह एच अन्तर्गत मंगलबार राति नै भएको खेलमा भ्यालेन्सियाले लिलेलार्य ४–१ ले पराजित गरेको छ । भ्यालेन्सियाको पनि सात अंक नै भएको छ ।

कार्तिक २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू