महराबारे प्रचण्डको बयान, ‘क्रिमिनल होइन, मोरल गल्ती’

पुष्पकमल दाहाल प्रचण्ड।

दाङ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले निर्वतमान सभामुख कृष्णबहादुर महराले नैतिक गल्ती गरेकाले सजायको छिनोफानो अदालतले गर्ने बताएका छन् ।

दाङ स्थित महराको निर्वाचन क्षेत्र घोराहीमा बुधबार प्रेस सेन्टर दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले महराले नैतिक गल्ती गरेको बताए ।

विज्ञापन

‘यो विषय अदालतमा गएकाले राजनीतिक रुपमा धारणा राख्नु उचित होइन’, उनले भने, ‘उच्च आहोदामा पुगेको व्यक्तिबाट त्यस्तो गल्ती हुनुहुँदैनथ्यो ।’

महराका बारेमा सञ्चार माध्यमा समाचारहरु आएपछि आफूले पार्टीका नेता नारायणकाजी श्रेष्ठ र जोगबहादुर महरालाई भेटेर सोध्न पठाएको तर, त्यहाँ महराले सत्य कुरा नगरेपछि स्वयम आफू महरालाइ भेट्न पुगेको खुलासा गरे । तर, आफूसँगको भेटमा महराले सत्य कुरा नबताएको प्रचण्डले बताए ।

‘सत्य कुरा बताउनु भएन । उच्च ओहोदामा पुगेको व्यक्तिबाट यस्तो खालको जवाफ आउनु उहाँको पहिलो गल्ती नै त्यहीँ हो’, उनले भने, ‘महराको गल्ती क्रिमिनल होइन, नैतिक हो ।’

मरेको बाघसँग किन झस्किनु ?

पूर्वराजा प्रति संकेत गर्दै प्रचण्डले मरेको बाघको संज्ञा दिए । ‘मरेको बाघसँग किन झस्किनु’, उनले भने, ‘अन्तिम क्षणमा मसानघाटबाट हात खुट्टा फाल्ने मरेको बाघसँग किन झस्किनु ? म झस्किएको होइन ।’

प्रचण्डले सरकारले गरेको प्रदेश प्रमुखको नियुक्तिलाई स्वभाविक रहेको प्रतिक्रिया दिए ।

कार्तिक २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्