राष्ट्रपति सी भेट्न चाहन्थे पूर्वराजा ज्ञानेन्द्र शाहसँग

काठमाडौँ – गत महिना राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी जीनपिङले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट्ने इच्छा व्यक्त गरेको, तर नेपाल सरकारले त्यसलाई सकारात्मक रुपमा नलिएपछि उनको चाहनाले औपचारिक रुप लिन नसकेको बुझिएको छ ।

भारतको तामिलनाडुमा अनौपचारिक शिखर भेटघाट अर्थात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई दिन बिताई नेपालको राजकीय भ्रमणमा आएका राष्ट्रपति सी को यो चाहनालाई नेपालको स्थायीत्वका लागि परम्परागत शक्तिको भूमिकाको औचित्य र आवश्यकताबारे चीन स्पष्ट रहेको संकेतका रुपमा पनि यसलाई लिइएको छ ।

यो चाहनालाई उनले मोदीसमक्ष खुलेर राखे या राखेनन्, तर नेपालमा स्थायीत्व, शान्ति र वृहत राष्ट्रिय एकताको औचित्यबारे दुवै एसियाली नेतामा समान धारणा रहेको अड्कलबाजी अनौपचारिक रुपमा नेपाल भित्रै पनि हुन थालेको छ ।

राष्ट्रपति सी को चाहनाप्रति प्रधानमन्त्री केपी ओली सकारात्मक नदेखिएपछि सी का विशेष दूतले पूर्वराजासँग भेट गरेको सरकारका एक उच्च पदाधिकारीले पुष्टि गरे । ‘यो भेटघाट भएको विश्वसनीय आधार हामीसँग छ’, उनले भने । तर निर्मल निवास सचिवालयले यसबारे केही बोल्न चाहेन ।

नेपालको शान्ति, सुरक्षा र प्रशासनिक दक्षता वृद्धिका लागि सरकारी निकायका लागि तालिम लगायतको व्यवस्था मिलाउने आश्वासन दिएका चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्रीसँगको वार्तामा नेपाली भूमि कुनै रुपमा चीनविरुद्ध प्रयोग भएमा त्यस्ता शक्तिहरुको ‘हाड र रगत अलग’ गर्ने चेतावनी दिएर खासगरी पश्चिमी शक्तिहरुको बढ्दो भूमिका र त्यसले चीनको सुरक्षामा संभावित असरप्रति गहिरो चासो व्यक्त गरेका थिए ।

सरकारको अलोकप्रिता र पूर्वराजाको जनताबिच देखिने गरी बढेको लोकप्रिताको यो चरणमा सी को शाहसँगको भेटको पक्षमा ओली नरहेको सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको एक स्रोतले बतायो ।

कार्तिक २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू