सरकारले गर्‍यो प्रदेश प्रमुखको बिदाई, झाले दिए धन्यवाद

बुटवल– प्रदेश ५ का निवर्तमान प्रदेश प्रमुख उमाकान्त झालाई प्रदेश ५ सरकारले औपचारिक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ ।

प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, भूमि व्यवस्था तथा कृषिमन्त्री आरती पौडेल र कर्मचारीहरुको उपस्थितिमा सरकारले झालाई बिदाई गरेको हो ।

कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेल भने सहभागी थिएनन् । उनी नेकपा अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुने कार्यक्रमका लागि दाङमा थिए ।
बिदाई कार्यक्रममा बोल्दै झाले संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा प्रदेशमा प्रमुखको रुपमा जिम्मेवारी निर्वाह गरी संविधान कार्यान्वयनमा भूमिका खेल्न पाएकोमा खुशी व्यक्त गरे ।

उनले संघीयता कार्यान्वयनका लागि आफुले सकारात्मक भूमिका निर्वाह गरेको र सबैबाट साथ पाएको स्मरण गरे ।

झाले संविधान कार्यान्वयनमा सहयोग गर्ने प्रदेशवासीलाई पनि धन्यवाद ज्ञापन गरे । उनले भने–‘मेरो कार्यकालमा यस प्रदेश तथा समग्र देशकै हित अभिवृद्धि गर्ने सहकार्यमा मलाई सहयोग र समन्वय गर्नुहुने संघीय सरकार एवम् प्रदेश तथा स्थानीय सरकारका पदाधिकारीहरू एवम् राजनीतिक दलका नेतृत्व वर्ग, नागरिक समाज, बुद्धिजीवी, राष्ट्रसेवक कर्मचारीहरू, पत्रकार मित्रहरू लगायत सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’

बिदाई कार्यक्रममा आन्तरिक मामिला तथा काुननमन्त्री कुलप्रसाद केसीले प्रदेश प्रमुखको रुपमा झाले संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र संघीयता कार्यान्वयनमा सहयोग पुगेको बताए । उनले झाले गरेका काम संविधान र संघीयता कार्यान्वयनमा प्रदेशवासीको हितमा भएको बताए ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम १७ कार्तिकमा सातै प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी थिइन् ।

झालाई पदमुक्त गरेसँगै सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रदेश ५ मा प्रदेश प्रमुखका रुपमा धर्मराज यादव नियुक्त भएका छन् ।

कात्तिक २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्