मिथिलाञ्‍चलमा सामाचकेवाको रौनक

जनकपुरधाम- तराई-मधेशको मिथिलाञ्चल क्षेत्रमा अहिले सामाचकेवाले रौनक छाएको छ। थारु समुदायसँगै मिथिलाञ्चल क्षेत्रले आफ्नो धर्म संस्कृतिको संरक्षणका लागि पर्वहरुको आड लिएको पाइन्छ। जीवनको आदर्श र कलात्मक पक्षहरुलाई चाडपर्वसँग गाँसेर राख्‍ने मैथिली समाजमा सधै कुनै न कुनै पर्वको रमझम रहेकै हुन्छ।

यसै क्रममा तराई मधेशमा स-साना माटाका आर्कषक मूर्तिहरू बनाई मनाइने सामा चकेवा पर्व मनाइरहेका छन्। कार्तिक शुक्ल पञ्चमी अर्थात छठको खरनाबाट सुरु भएको सो पर्व १० दिनसम्म मिथिलाञ्चलका चेलीबेटीहरुले मनाउने गर्छन्।

विज्ञापन

कार्तिक शुक्ल पूर्णिमा सम्म विभिन्‍न सुरिला गीतहरु गाएर सखी सहेलीहरु संगै सामा चकेवा पर्व मनाउने गर्छन्। सामा चकेवा पर्वलाई भाई बहिनी बिचको अगाध प्रेमको प्रतिकको रुपमा लिएको छ।

सामा चकेवा लोक नाटकको रुपमा महिला तथा को पुनित पर्व रहेको सांस्कृतिविद परमेश्र कापडीले बताए।यस पर्वमा नाटकमा तत्व दर्शन, मूल्य दर्शनका साथै ज्ञान र मनोरन्जन, राग र वियोग आदि सबै एकैमा समावेश भएको उनले बताए। सामाचकेवा भाई-बहिनीको पर्व भएको र यस पर्वमा गाईने गीतहरुले भाईको आयु बढने विश्वास रहेको सामाचकेवा खेल्ने स्थानिय जनकपुरधामकी रेनु झाले बताइन्।

यस पर्वको वास्तविक नाम श्यामाचकेवा रहेपनि लोकभाषामा यसलाई सामाचकेवा भन्ने गरिन्छ । सामा स्त्री पात्र हुन् भने चकेवा पुरुष पात्र हुन् । दुईटैलाई चराको आकृतिको रुपमा माटोले बनाइएको हुन्छ।

सामाचकेवा खेलमा श्रीमान श्रीमतीको बारेमा चुगली लगाउने चूडक पात्र अर्थात चुगलाको जुगांलाई डढाउने गरिन्छ। बहिनी मिलेर आगो लगाई डढाउदै बडो घृणाले गीत गाउँछन्।

पूर्णिमाका दिन बहिनीहरु आफ्ना भाइ तथा दाइलाई निमन्त्रण दिन्छन्। भाईले घुँडामा राखेर सबै मूर्ती तोडछन् र ती मूर्तीहरुलाई जोतेको खेतमा बिसर्जन गरिन्छ। बहिनीले भाइलाई च्युरा, दही, मिष्ठान, सख्खरको भोजन गराउँछन यसलाई मैथिलीमा ‘फाँरभरी’ भन्ने गरिन्छ।

सामा चकेवाका मूर्ति माटोले बनाउने भएकोले यसले मैथिल महिलाहरुको मूर्तिकला प्रतिको कौशलको समेत प्रदर्शन गर्दछ। सामाचकेवामा मिथिलानी दिदिबहिनीहरु समूह बनाएर नजिकैको नदी तलाउबाट माटो ल्याउने गर्छन्।

ती माटोबाट कलात्मक वृन्दावन, चुगला, चकेवा, चरा, कजरौटा, सतभैया लगायतका मूर्तिहरु वनाई घाममा सुकाएर साँझदेखि गाउँमा सामाका गीत गाउँदै डुल्दै सामाचकेवा खेलेर पर्वको सुरुवात गर्छन्।

 

कार्तिक २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू