गण्डकी प्रदेश प्रमुख शेरचनले सम्हाले जिम्मेवारी

पोखरा – गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले पोखरा सहिदचोकस्थित कार्यालयमा उपस्थित भई आफ्नो पदभार ग्रहण गरेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा कात्तिक १८ गते नियुक्त भएका शेरचन मंगलबार सपथ खाएपछि बुधबार दिउँसो साढे १ बजे पोखरा विमानस्थल ओर्लिएका हुन्।

विज्ञापन

पदभार सम्हाल्नुअघि कार्यालयमा सामान्य पूजाआजा गरी उनी कार्यकक्ष प्रवेश गरे। पदभार ग्रहणपछि कार्यालय प्रांगणमा आयोजित चियापान कार्यक्रममा सरिक भएका प्रदेश प्रमुख शेरचनले मुलुकमा देखिएको संकट निवारणमा सहमतिमार्फत भूमिका खेल्ने बताए ।

नेपाली जनताको साथमा राजनीतिक दलहरुसँगको सहमति, सहकार्य र एकतामा राष्ट्रियता जोगाउन सकिने उनको भनाई थियो । ‘तत्कालीन आन्दोलनमा सहभागि सबै सहयात्रीहरुको समझदारीमा मुलुकको राष्ट्रियता, सार्वभौमिकतालाई जोगाउन सक्छौँ’, उनले भने, ‘त्यही उद्देश्यलाई केही सहयोग पुर्‍याउन सक्छु भन्ने लागेर पद स्वीकार गरेको हुँ।’

नवनियुक्त प्रदेश प्रमुख शेरचनलाई विमानस्थलमा स्वागत गर्न गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, अन्य मन्त्रीहरु, नेकपाका प्रदेश तथा जिल्ला तहका नेता र स्थानीय तहका जनप्रतिनिधिहरु पुगेका थिए।

शुभेच्छुकहरुले पनि विमानस्थलमै पुगि उनको स्वागत गरेका थिए।

कार्तिक २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू