नेपालले १४ वर्षपछि प्रथम श्रेणी क्रिकेट खेल्दा पहिलो दिन के के भयो ?

काठमाडौँ- विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलिबोन-एमसिसी र नेपाली राष्ट्रिय क्रिकेट टोलीबीच बुधबारदेखि तीनदिवशीय खेल सुरु भएको छ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको एमसिसीले पहिलो दिनको समाप्तीमा ६ विकेट गुमाएर तीन सय ११ रन जोडेको छ।

नेपालका सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामीले दुई दुई विकेट लिए। सन्दीपले २४ ओभर बलिङ गर्दै तीन मेडन राखेर ८१ रन दिए। सोमपालले १७ ओभरमा तीन मेडन राखेर ५० रन खर्चिए। शरदले १० ओभरमा एक मेडन राखेर ३५ रन दिए। पहिलो दिन सन्दीपले नेपालका तर्फबाट सबैभन्दा बढी ओभर बलिङ गरे। नेपालका तर्फबाट ८ जना बलरले बलिङ गरेका थिए।

एमसिसीका विल रोड्सले सर्वाधिक ७३ रन बनाए। माइल्स हेमन्डले ५२, विल भान्ड्सपरले ५३ र टम वेस्टलीले ३९ रन जोडे। यासिर आराफात  ३५ र एलेक्स थम्पसन २२ रनमा खेल्दैछन्। २५ रन जोड्दा पहिलो विकेट गुमाएका एमसिसीले दोस्रो विकेटका लागि ९५ र चौथो विकेटका लागि ४९ रनको साझेदारी गर्‍यो।

आईसिसीले कम्तीमा ३ दिनभन्दा बढीसम्म चल्ने क्रिकेट खेललाई प्रथम श्रेणीको मान्यता दिने गर्दछ। नेपालले १४ वर्षपछि प्रथम श्रेणी क्रिकेट खेलेको हो।

टेस्ट मान्यताप्राप्त देशमा हुने तीन दिवशीय स्वरुपका घरेलु क्रिकेट प्रतियोगिताले प्रथम श्रेणीको मान्यता पाउने गर्दछन्। यसले टेस्ट क्रिकेटका लागि तयार गर्दछ। अन्य देशको हकमा भने आईसिसीले मान्यता दिनुपर्दछ।

नेपालले यसअघि सन् २००५ मा अन्तिमपटक प्रथम श्रेणी क्रिकेट खेलेको थियो।

मैत्रिपुर्ण खेलका लागि नेपाल भ्रमणमा रहेको एमसिसीले नेपालको यू-१९ राष्ट्रिय क्रिकेट टोलीलाई ३८ रनले हराएको थियो भने सिनियर राष्ट्रिय टोलीसँग पाँच विकेटको हार ब्यहोरेको थियो। दुवै एकदिवशीय खेल थिए।

कात्तिक २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्