नोबेल अस्पतालमा डाक्टर नभेटिएपछि शिशुको ज्यान गुम्यो, अढाइ लाख रुपैयाँ क्षतिपूर्ति

नोबेल शिक्षण अस्पताल।

मोरङ– विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि आफन्तहरुले चिकित्सक नभेटिँदा शिशुको मृत्यु भएको आरोप लगाएका छन्।

सुनसरीको बर्जु गाउँपालिका चिमडीका दीपक राईको परिवारमा मङ्गलबार छोरा जन्मिएको थियो। दीपककी ३७ वर्षीया श्रीमती माण्डवी राईले मंगलबार दोस्रो सन्तान जन्माएकी थिइन्।

विज्ञापन

चिकित्सकका अनुसार जन्मिँदा शिशुको स्वास्थ्य राम्रो र तीन किलो तौल थियो। सामान्य अवस्थामै जन्मिएका शिशु र सुत्केरी आमाको स्वास्थ्य अवस्था राम्रो रहेको भन्दै बुधबार अस्पतालले घर फर्काउन तयारी गरिरहेको थियो।

यसैबीच बिहान करिब साढे ५ बजे शिशुको मृत्यु भएको हो। जन्मिएको २४ घण्टासम्म चिकित्सकले एक पटक पनि स्वास्थ्य अवस्था नजाँचेका कारण शिशुको मृत्यु भएको राईले आरोप लगाए।

राईले मंगलबार रातिदेखि भर्खर जन्मिएको छोरो कुनै पीडा भए जस्तो गरेर रुने गरेको भएपनि वार्डमा उपस्थित स्वास्थ्यकर्मीले चासो नदिएको गुनासो गरे।

‘बिहान ४ बजेदेखि छोरो रुन छाड्यो, त्यसैगरि शरीर चिसो र निलो हुँदै गयो। यस विषयमा चिकित्सकलाई जानकारी गराउन खोजेपनि उपलब्ध हुन नसक्दा छोरा गुमाउनु पर्‍यो’, राईले भने।

समयमै उपचार पाउन सकेको भए छोरो बाँच्ने भन्दै उनले उपचार नपाएर घटना भएकाले यसमा अस्पताल र चिकित्सकको गम्भीर लापरबाही भएकाे आरोप लगाए।

यो घटनालाई पैसाको लेनेदन गरेर मिलाइएको छ। शिशुका आफन्तले अस्पतालसँग दुई लाख ५० हजार रुपैयाँ लिएका छन्।

चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै दीपकका आफन्तहरुले मृत शिशु नलैजाने भन्दै ‘बार्गेनिङ’ गरेपछि पैसा दिन अस्पताल बाध्य भएको अस्पतालका एक कर्मचारीले बताए।

सुरुमा पाँच लाखको बार्गेनिङ गरिएको थियो। त्यसपछि दुई पक्षबीच दुई लाख ५० हजारमा कुरा मिलेको हो।

अस्पतालले शिशुका आफन्तले खोजेका बेला चिकित्सक पुग्न नसक्नु कमजोरी भएको स्वीकार गरेको छ। अस्पतालका प्रवन्धक नारायण दाहालले समयमा डाक्टर नभेटेका कारण शिशुको मृत्यु हुनु दुःखद भएको बताए।

कार्तिक २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू