मङ्सिर १२ देखि हस्तकला मेला

काठमाडौँ– नेपाल हस्तकला महासङ्घले लोपोन्मुख कलाकृतिको जगेर्ना, मौलिक कलाको संरक्षण र नयाँ पुस्तालाई यो पेशाप्रति आकर्षित गर्न आउँदो मङ्सिर १२ देखि १७ औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिता आयोजना गर्ने भएको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार मेलामा २०० कक्ष तथा आठ प्याभिलियन कक्ष रहनेछ। मङ्सिर १६ गतेसम्म भृकुटीमण्डपमा चल्ने सो मेलामा भारत, श्रीलङ्का, बङ्गलादेशसहित विभिन्न मुलुकका व्यापारीको कक्ष रहनेछ।

विज्ञापन

नेपालमा हाल हस्तकला वस्तुको आन्तरिक बजार करीब १० अर्ब रुपैयाँ बराबरको छ। नेपालले तेस्रो मुलुकहरुमा वार्षिक १० अर्ब रुपैयाँभन्दा बढी हस्तकलाको निर्यात गर्दै आएको छ।

नेपालको विभिन्न भौगोलिक क्षेत्रको वेशभूषा, खानाको परिकार, जातीय पहिचान र संस्कृति झल्किने कार्यक्रमका साथै नेपाल भाषाको दुर्लभ चर्या नृत्य, प्राचीन तथा आधुनिक सङ्गीत प्रस्तुत हुने मेला संयोजक धर्मराज शाक्यले जानकारी दिए।

नेपाल हस्तकला महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले महासङ्घले विसं २०४८ देखि शुरु गरेको हस्तकला मेलाको प्रमुख उद्देश्य विश्वबजारमा नेपालको निर्यात बजार वृद्धि गर्नु रहेको बताए।

उनले हस्तकलाको विकास गर्न सके देशमा धेरै रोजगारीको सिर्जना गर्न सकिने बताउँदै त्यसका लागि सरकाले विशेष पहल गर्नुपर्ने आवश्यकता औँल्याए।

वाणिज्य मन्त्रालयको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक सुयस खनालले सरकारले हस्तकलाको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपालको हस्तकलाको उपस्थिति सन्तोषजनक रहेको बताए।

उनले विदेशमा नेपाली हस्तकलाको बजार विस्तार तथा प्रवर्द्धन कसरी बढाउने भन्ने विषयमा सरकार गम्भीर रहेको बताए।

कार्तिक २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्