प्रदेश -१का प्रदेश प्रमुख अधिकारीद्वारा पदभार ग्रहण

मोरङ– प्रदेश एकका नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पदबहाली गरेका छन्। बुधबार प्रदेश एकको राजधानी विराटनगर आइपुगेका प्रमुख अधिकारी कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्।

अधिकारीले आफ्नो पद र कामलाई तडकभडक नबनाई जिम्मेवारीपूर्वक अघि बढाउने बताए। उनले भने, ‘काम गर्ने सिलसिलामा तडकभडक बढी भयो भन्ने जनताले अनुभूति गरेको भए त्यस्तो गर्नु हुँदैन।’

विज्ञापन

प्रमुख अधिकारीले राजनीतिक शक्ति, आर्थिक र शैक्षिक क्षेत्रको अवस्थाको बारेमा जानकारी लिएर व्यवस्थित रुपमा आफ्नो काम अघि बढाउने विश्वास व्यक्त गरे।

कास्कीका अधिकारी राष्ट्रपतिबाट कार्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त भएका हुन्। उनी मंगलबार काठमाडौंमा शपथग्रहण गरी बुधबार अपराह्न विराटनगर आएका हुन्।

उनलाई विराटनगर विमानस्थलमा प्रदेशका मन्त्रीहरुले स्वागत गरेका थिए। प्रदेश प्रमुख अधिकारी यसअघि कास्कीबाट नेकपा स्थायी कमिटि आमन्त्रित सदस्य थिए।

२००७ साल पौष २२ गते पोखराको बाटुलेचौरमा जन्मिएका प्रमुख अधिकारीले पृथ्वीनारायण क्याम्पस पोखराबाट अंग्रेजी विषयमा स्नातकतहसम्म अध्ययन गरेका छन्।

उनले पोखरा विश्वविद्यालयको सभासद, पृथ्वीनारायण क्याम्पसको सञ्चालक समिति तथा विन्ध्यवासिनी माविको व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी वहन गरिसकेका छन्।

कार्तिक २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू