मन्त्री पुनद्वारा भेरी–बबई डाइभर्सन आयोजनाको निरीक्षण

फाइल तस्बिर

सुर्खेत – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले भेरी बबई बहुद्देश्यीय डाइभर्सन आयोजनाको निरीक्षण गरेका छन् ।

बुधबार बबई किनार हात्तीखालस्थित सुरुङको निकासद्वारबाट ‘मोनोरेल’ चढेर चिप्लेमा रहेको प्रवेशद्वार पुगेका मन्त्री पुनले आयोजनाको निरीक्षण गरेका हुन् ।

विज्ञापन

नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टिबिएम) मार्फत १२.२ किमी लामो यो सुरुङ निर्माण गरिएको हो । निर्माण अवधिभन्दा झण्डै एक वर्षअघि सम्पन्न भएको सुरुङको ‘बे्रक थु्र’ यही वैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

आयोजनाले सुरुङ निर्माण गर्ने क्रममा मोनोरेल ल्याएको थियो । मन्त्री पुनको टोलीलाई मोनोरेलबाट चिप्ले आइपुग्न करिब एक घण्टा लागेको थियो । आयोजनाका प्रमुख सञ्जिव बरालले आयोजनाको पछिल्लो प्रगतिबारे ‘ब्रिफिङ’ गरेका थिए ।

आयोजना निरीक्षणका क्रममा ऊर्जामन्त्री पुनले राष्ट्रिय गौरवको आयोजनामा बजेट र जनशक्ति अभाव हुन नदिने प्रतिबद्धता जनाए ।

जनताको जलविद्युत आयोजनाअन्तर्गत छुट्टै कम्पनी दर्ता गरेर हात्तीखालमा ४८ मेगावाट विद्युत उत्पादन गरिने उनको भनाई थियो । पूर्वी सल्यानको दार्मा गाउँपालिकामा विद्युत लाइन बिस्तारसम्बन्धी कार्यक्रम जाने क्रममा मन्त्री पुनले भेरी–बबईको निरीक्षण गरेका हुन् ।

कार्तिक २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्