च्याम्पियन्स लिग फुटबल

न्यू नेइमारको ह्याट्रिक, रियल मड्रिडको शानदार जित

च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले शानदार जित दर्ता गरेको छ । रियल मड्रिडको जितमा १८ वर्षका ब्राजिलियन खेलाडीले रोड्रिगोको भूमिका महत्वपूर्ण रह्यो ।

समूह ए अन्तर्गत घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले गालातासारेलाई ६–० ले पराजित गरेको हो । रियलका लागि रोड्रिगोले तीन गोल गरे भने सर्जियो रामोसले एक तथा करिम बेन्जिमाले दुई गोल गरे ।

पहिलो हाफमा चार गोल गरेको रियल मड्रिडले दोस्रो हाफमा थप दुई गोल गरेको हो । पहिलो सात मिनेट भित्रै रोड्रिगोले दुई गोल गरेका हुन् । उनले चौथो र सातौँ मिनेटमा गोल गरे ।

१४ औँ मिनेटमा पाएको पेनाल्टीमा रामोसले गोल गरे भने ४५ औँ मिनेटमा बेन्जिमाले गोल गरेपछि पहिलो हाफमा रियल मड्रिडले ४–० को अग्रता लियो । ८१ औँ मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गरे ।

इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै रोड्रिगोले ह्याट्रिक पूरा गरे र टिमलाई ६–० को जित दिलाए । च्याम्पियन्स लिग फुटबलमा ह्याट्रिक गर्ने कम उमेरका खेलाडीको सूचिमा रोड्रिगो दोस्रो नम्बरमा परेका छन् । उनी भन्दा अघि लेजेण्ड राउल मात्रै छन् ।

रोड्रिगोलाई यसअघि नै ‘न्यू नेइमार’ अर्थात नयाँ नेइमारको रुपमा लिइने गरेको छ । पिएसजीका स्टार खेलाडी नेइमार जस्तै रोड्रिगोले पनि ब्राजिलियन क्लबबाट स्पेनको यात्रा तय गरेका छन् ।

उनी सान्तोसबाट रियल मड्रिड आएका हुन् । नेइमार र उनको उचाई पनि उस्तै छ । दुवै खेलाडीको उचाई पाँच फिट ९ इन्च छ । रोड्रिगोको ह्याट्रिकमा जित निकालेको रियल मड्रिड चार खेलबाट सात अंकसहित समूहको दोस्रो स्थानमा छ ।

सोही समूह अन्तर्गत भएको खेलमा क्लब ब्रुगलाई १–० ले पराजित गरेको पेरिस सेन्ट–जर्मेन (पिएसजी) १२ अंकसहित शीर्ष स्थानमा छ । पिएसजीको जितमा माउरो आइकार्डीले २१ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

कात्तिक २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्