विचलित सनले गरे दुई गोल, टोटनह्यामको प्रभावशाली जित

साबिक उपविजेता टोटनह्यामले च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा स्थान बनाउने आफ्नो सम्भावना बलियो बनाएको छ । समूह बी अन्तर्गत बुधबार राति भएको खेलमा टोटनह्यामले रेड स्टार बेलग्राडेलार्य ४–० ले पराजित गरेको छ ।
अवे मैदानमा भएको खेलमा टोटनह्यामका लागि पछिल्लो केही दिनदेखि खराब समयबाट गुज्रिएका सन हेङ्ग–मिनले दुई गोल गरे । यस्तै क्रिष्टियन एरिक्सन र जोभानी लो चेसोले एक–एक गोल गरे ।
प्रिमियर लिग अन्तर्गतको खेलमा आफूले गरेको ट्याकलका कारण एभर्टनका आन्द्रे गोमेज गम्भीर चोटग्रस्त भएपछि टोटनह्यामका सन विचलित अवस्था पुगेका थिए । तर उनले बुधबार राति भएको खेलमा दुई गोल गरेर सो पीडाबाट बाहिरिने प्रयास गरेका छन् ।
उनले ५७ र ६१ औँ मिनेटमा गोल गरेका हुन् । त्यसअघि नै लो चेसोले टोटनह्यामका लागि ३४ औँ मिनेटमा गोल गरेका थिए । एरिक्सनले ८५ औँ मिनेटमा गोल गरेपछि टोटनह्याम ४–० ले विजयी भयो ।
सनले यो खेलमा गरेको गोलको सेलिब्रेसन भद्र रुपमा गरे । जितपछि समूहको दोस्रो स्थानमा रहेको टोटनह्यामको चार खेलबाट सात अंक छ ।
बुधबार राति नै भएको खेलमा ओलम्पिकासलाई २–० ले पराजित गरेको बार्यन म्युनिख १२ अंकसहित समूहको शीर्ष स्थानमा छ ।