ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धी अनुसन्धानको सुनुवाई अब सार्वजनिक रुपमा

जर्ज केन्ट, मरी योवानोविच र बिल टेलरले अनुसन्धानको क्रममा संसदीय समितिसँग आफ्नो कुरा राखिसकेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको पहिलो सार्वजनिक सुनुवाई आउँदो हप्ता हुने भएको छ ।

अमेरिकी तल्लो सदनका समितिले ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान गर्दै आएका छन् । अहिलेसम्म गोप्य रुपमा हुँदै आएको सुनुवाई आउँदो हप्ता भने सार्वजनिक रुपमा हुने भएको हो ।

यो प्रक्रियामा आउने अधिकारीहरुसँगको सुनुवाई टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिने भएको छ । सार्वजनिक रुपमा हुने सुनुवाई विदेश मन्त्रालयका तीन अधिकारी सहभागी हुने जनाइएको छ ।

तीन संसदीय समितिमा रहेका सांसदहरुले अहिलेसम्म प्रत्यक्षदर्शी वा घटनाबारे जानकार रहेका अधिकारीहरुसँग बन्द कक्षमा जानकारी लिँदै आएका थिए ।

ट्रम्पमाथि आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि विपक्षी नेताको राजनीतिक छवी धुमिल पार्ने ध्येयले भ्रष्टाचार आरोपमा छानबिन गर्न युक्रेनलाई दबाब दिएको आरोप छ ।

ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको टेलिफोन संवादमा पूर्व उपराष्ट्रपति जो बाइडेन तथा उनका पुत्र हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन गर्न दबाब दिएको खुलेको छ । उनले त्यसो नगरे सैन्य सहयोग रोक्ने चेतावनी पनि दिएको आरोप छ ।

जो बाइडेन आउँदो वर्ष हुने अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा सबैभन्दा अघि रहेका छन् । ट्रम्पले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

कात्तिक २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्