रेखाको ‘पछ्यौरी भिजायो, सिमसिमे पानीले..’

‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा’ गीत गाएर लोकप्रिय बनेकी गायिका रेखा शाहले आफ्नो नयाँ गीत ‘पछ्यौरी भिजायो, सिमसिमे पानीले…’ सार्वजनिक गरेकी छन् |

हरि लम्सालको संगीत तथा भूपेन्द्र खड्काको शब्द रचना रहेको सो गीतमा प्रेम-प्रणयका पुरुष मनोभावलाई प्रस्तुत गरिएको छ | आफ्ना अघिल्ला गीतहरूजस्तै यो गीत पनि लोकप्रिय हुने र स्रोता तथा दर्शकको माया पाउनेमा आफू विश्वस्त रहेको गायिका शाह बताउँछिन् | भन्छिन्, ‘सिमसिमे पानीमाबाट सुरु भएको मेरो संगीतको यात्रा फेरि अर्को पानीकै विम्ब भएको गीतमा आइपुगेको छ | यो संयोग मात्र भए पनि गीत राम्रो भएकाले यो गीत गीतबाट मा धेरै आशावादी छु |’

विज्ञापन

विभिन्न शैलीका गीतमा संगीत सृजना गरिरहेका अहिलेका चर्चित संगीतकार हरि लम्साल भन्छन्, ‘मैले यो गीतमा भएका प्रेमिल टिपिकल शब्दलाई लोक संगीतसंग नजिक रहेर फ्युजन गर्ने कोसिस गरेको छु | मेरा लागि पनि यो नौलो धुन हो |’

गीतकार भूपेन्द्र खड्का भन्छन्, ‘हामीले सधैं गीतमा नारी सौन्दर्यका कुरालाई बयान गर्थ्यौ, यसपालि नारीका आँखाबाट पुरुषको प्रेम र प्रेम-चरित्रबारे गीत लेख्ने कोसिस गरेको छु | यो गीत नयाँ थिमको मात्रै छैन, साँच्चै रोचक पनि छ |’


गोविन्द राईको कोरियोग्राफी रहेको सो गीतमा नेपाली म्युजिक भिडियोमा अभिनयमार्फत तहल्कामच्चाइहेकी मोडेल अन्जली अधिकारी र महेश खड्काको अभिनय रहेको छ | नितिन चन्दले निर्देशन गरेको सो भिडियोलाई दिप्सन बस्नेतले छायांकन र सम्पादन गरेका हुन् |

१५ वर्षको उमेरमा ‘सिमसिमे पानीमा, ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा..’ बोलको गीत गाएर रेडियो नेपालले आयोजना गरेको देशव्यापी लोकगीत प्रतियोगितामा प्रथम भएकी रेखा शाहले नेपाली संगीतमा २७ वर्ष लगानी गरिसकेकी छिन् |

लोकगीतबाट सुरु भएको उनको यात्रा आधुनिक, पाश्चात्य, फ्युजन हुँदै गीतका विविध विधामा फैलिँदै छ | चण्डीप्रसाद काफ्लेसँग शास्त्रीय संगीतको सिनियर डिप्लोमा तहको गायन अभ्यास गरिरहेकी उनले गत वर्ष ‘जेन्डरस्टडी’मा त्रिभुवन विश्वविधालयबाट स्नातकोत्तर तहको औपचारिक अध्ययन पूरा गरेकी छन् |

कार्तिक २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्