कर्म कथा

अवरोधहरु छिचोल्दै कमलाले गरेकाे सुन्दरता निखार्ने यात्रा

काठमाडौँ – ४७ वर्ष आगाडि उनले अन्तरजातीय बिहे गरिन्। यहि बिहे उनको जीवनको पहिलो बिद्रोह थियो। घर परिवारले उनीहरुलाई स्वीकार्न अनकनायो। क्षेत्रीकी छोरी नेवारकी बुहारी भइन्, परिवारमा उनलाई भेदभाव हुन थाल्यो ।

दुई वर्षको प्रेम पश्चात कमला र नरेन्द्र श्रेष्ठले भागेर बिहे गरेका थिए। कमला धरानबाट बिहे गरेर काठमाडौँ आउँदा जम्मा १४ वर्षकी थिइन्। जसोतसो उनी घरका सदस्यहरुलाई रिजाउने कोशिस गरिरहिन्।

विज्ञापन

बिस्तारै वर्ष बित्दै गए। उनले दुईवटा छोरा जन्माइसकेकी थिइन्। हेलाको पात्र बनेकी कमलाले सोचेकी थिइन् कुनै दिन मलाई यही परिवारले राम्रो मान्ने छ। उनको सोचाई साँच्चै पूरा भयो।

नरेन्द्रले कमललाई आफूसँगै थाइल्याण्ड लैजाने निर्णय गरे। उनी पहिलो बुहारी थिइन्, जो विदेश जाँदै थिइन्।

विदेशको बसाईले ल्याएको परिर्वतन


नरेन्द्र फरेस्ट्रिमा काम गर्थे। त्यही काम गर्दा गर्दै नरेन्द्रलाई थाइल्याण्डको बैंकक पढ्न जानका लागि प्रस्ताव आयो। नरेन्द्रको घरमा विदेश पढ्न जाने पहिलो छोरा नरेन्द्र र बुहारी पनि कमला नै थिइन्।

उनीहरु थाइल्याण्डको बैंककका लागि उडे। उनीहरु बैंकक जाँदा जेठो छोरा ३ र कान्छो छोरा डेढ वर्षका थिए। उता पुगेपछि नरेन्द्र बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म काममा जना थाले भने कमलाले जेठो छोरालाई किण्डरगाडेनमा भर्ना गरिदिइन् र कान्छो छोरालाई उनीसँगै गएका मेटले हेरचाह गर्न थाले। कमला अब पूरै खाली भइन्। उनलाई एक दुई दिन रमाइलै लागेता पनि केही समय पछि भने उनीलाई छट्पटी हुन थाल्यो।

खाली समयको सदुपयोग गर्नु पर्छ भन्ने उनलाई लाग्यो। उनको मनमा पढ्नु पर्छ भन्ने लाग्यो तर थाइल्याण्डमा अंग्रेजी माध्य नभएकाले विश्व विद्यालय जान हच्किइन्।

तर पनि उनले मनलाई स्थिर राख्न सकिनन्।

‘भगवानले तँ सोच म पुर्याइदिन्छु’ भनेको जस्तो कमला र नरेन्द्र बाटोमा हिँड्दै थिए। बाटो छेउमै उनीहरुले वाइम से नाम लेखिएको एउटा कलव देखे र भित्र पसे। कलव भित्र पसेपछि थाहा पाए। त्यहाँ ब्यूटी सम्बन्धी तालिम दिइदो रहेछ।

जुन कुराले कमलाको मन लोभ्यायो। उनी आफैलाई थाहा छैन रे उनी के कुराले यो काम तर्फ प्रभावित भइन्। उनले भर्ना हुने सोच राखिन्। र भर्ना भइन्, २ वर्षको डिप्लोमा कोर्स पूरा गरिन्।

कमला लगायत ८५ जना विद्यार्थी थिए। जसमध्य कमला मात्र नेपाली थिइन्। उनलाई भाषाको समस्या भयो। उनीले फेरि ६ महिना थाई भाषा सिकिन्। जसले गर्दा उनलाई साथीहरुसँग गफगाफ गर्न र बुझ्न सजिलो बनायो।

पढिरहँदा उनलाई लाग्थ्यो, साथीहरु थाइल्याण्डकै हुन्। उनीहरुले राम्रोसँग नपढेपछि फेरि पढ्न पाइहाल्छन्। तर कमलाले त्यो मौका बारम्बार पाउने अवस्था थिएन। त्यसैले उनी धेरै मेहनत गरेर पढ्न थालिन्। उनीको दुई वर्षको कोर्स पूरा भयो।

कमलालाई ‘एक्स्ट्रा अडिनरी’ विद्यार्थी भनेर चिनिइन्। अर्थात ८५ जनामा प्रथम भइन्।

उनी यही खुशीसँगै दुई छोरा बोकेर नेपाल फर्किन्। र आफूले सिकेको सिपलाई पोख्न सुरु गरिन्।

करियरको सुरुवात


भनिन्छ नि, सुन्दरताले मानिसको व्यक्तित्व झल्काउँछ। हो, कमलालाई पनि लाग्छ, सुन्दरताले साँच्चिकै मानिसको व्यक्तित्व झल्काउँछ। तसर्थ उनी ब्यूटिसियन तर्फ आकर्षित भइन्। कमलाले अन्य व्यक्तिहरुलाई सुन्दर बनाउन तर्फ लागिन्।

फेरि एक पटक कमलाको कदम परिवारलाई स्वीकार्य भएन्।

विदेशबाट आएर हजामको काम गर्न थालेको भनेर ससुराले उनले पकाएको खान समेत छोडिदिए। उनलाई हौसलाको साटो उल्टै निरुत्साहित गरियो। कुल–घरानकी बुहारीले हजामको काम गर्ने भन्दै धेरैले गाली गरे। सबैको कुरा सुनेर कमललाई बेकारमा यस्तो काम सिकेछु भन्ने लाग्न थाल्यो। परिवारबाट निरन्तर खिस्सी हुँदै थियो ।

उनी ‘फ्रस्टेड’ भइन्। काम छोड्नेसम्म सोच बनाइन्। तर श्रीमानले उनलाई हौसला दिए। दुनियाको कुरा नसुन्न र आफ्नो काम तर्फ ध्यान दिन उनलाई सल्लाह दिए। उनी भन्ने गर्थे, ‘जसले जे भने पनि तिमी आफ्नो काम गर।’ श्रीमानको यस्तो कुराले उनको मनोबल बलियो भयो।

घर छोड्ने निर्णय


अन्ततः कमला र नरेन्द्र परिवारसँग छुटिएर बस्ने निर्णय गरे । उनीहरुले एउटा प्रण गरे, जे पर्छ दुवैजनाले सहेर आगाडि बढ्ने छौँ, र आफ्नो काम प्रति लगनशिल हुने छौँ।

उनीहरुले कुपण्डोलमा तीन हजार रुपैयाँमा दुई तले घर भाडामा लिएर बस्न थाले। घरको एउटा कोटामा कमलाले सैलुन सुरु गरिन्।
कमलाले २०३६ मा सैलुन सुरु गरेकी हुन् । त्यो बेला काठमाडौँ र ललितपुरमा गरी जम्मा तीनवटा सैलुन भएको उनले बताइन्। उनी भन्छिन्, ‘त्यो बेलामा जम्मा ३ वटा सैलुन थिए, फाट्ट फुट्ट मात्र मानिसहरु आउने गर्थे।’

ललितपुरमा सैलुन सुरु गर्नु कमलाका लागि निकै चुनौतिपूर्ण थियो। त्यसमा पनि नेपालमा केही सामानहरु नपाइने अवस्था थियो। जसका कारण उनले सैलुनका लागि आवश्यक पर्ने सबै सामानहरु विदेशबाट मगाइन्।

उनले कामको सुरु गरेको अवस्थामा ठूलाबडा बाहेक अरुलाई सोह्र श्रृङ्गार प्रति त्यति धेरै चासो नदिने गरेको उनले बताइन्। उनी भन्छिन्,‘श्रृगार पटार गर्न लाज मान्थे, त्यो बेलाको श्रृगार पटार भनेको ठूलाबडाका लागि मात्रै हो सोचाई मानिसहरुमा थियो।’

उनले फेरि थपिन्, ‘त्यो समयमा कुपण्डोलमा राणा, शाहहरुको बसाइ बाक्लो थियो, बैंककबाट सिकेर आएकी रे भन्दै उहाँहरु म कहाँ आउनु हुन्थ्यो।’

पहिलो कमाई


४० वर्ष अगाडि आजभोलिको जस्तो मेकअपको प्रचलन नभएको उनले बताइन्। उनले भनिन्, ‘त्यो बेलामा कटिङ र थ्रेडिङ्ग गर्ने चलन थियो।’
उनले १० रुपैयाँमा कपाल काट्ने र ३० रुपैयाँमा फेसियल गर्ने गर्थिन्।

उनले काम सुरु गरेको एक महिनामा ८० रुपैयाँ कमाएको बताइन्।

सुरुसुरुमा महिनामा दुईजनासम्म उनको सैलुनमा आउने गर्थे।

फस्टाएको कमलाको काम


त्यो समयमा अहिलेको जस्तो न त सोसल मिडिया नै थियो न कुनै प्रचार गर्ने माध्यम नै। उनी भन्छिन्, ‘माउथ टु माउथ मेरो कामको विज्ञापन हुन थाल्यो।’ उनको व्यवसाय बिस्तारै फस्टाउन थाल्यो।

पायक नपरेको भन्ने ग्राहको गुनासोपछि अर्को ठाउँमा आफै घर बनाएर काम सुरु गरिन्। पहिलाको भन्दा यो ठाउँमा ग्राहकको पहुँच सहज थियो।

कमला र उनका श्रीमानले एक अर्कासँग गरेको वाचा कहिल्यै डग्मगाएन। उनी मुस्कुराउँदै भन्छिन्, ‘त्यसैले त मेरो काम दिन प्रति दिन फस्टाउँदै थियो।’

उनी भन्छिन्, ‘म जे छु, मेरो श्रीमानले दिएको हिम्मतका कारण भएको हो।’ नेरेन्द्र उनका लागि एक अभिभावक, श्रीमान, प्रेमी, साथी भएर सधैँ हौसला प्रदान गरिरहे। उनले भनिन्, ‘मैले चाहे अनुसारको श्रीमान पाएँ, जसका कारण म सफल भएँ, म यो कुरामा यस्तो श्रीमान पाउँनु म आफूलाई लक्की ठान्छु।’

मेहनत गरिन्। परिश्रमले उनलाई दक्ष बनाउँदै गयो। सबैले हाई–हाई गर्न थाले। कमला मख्ख पर्दै गइन्। उनलाई घरको बैठक कोठामा संचालन गरिरहेको सैलुनलाई ग्राहकलाई आउन सजिलो ठाउँ सार्ने निर्णय गरिन् र कुपण्डोलको मुख्य बाटोको छेउमै सुरु गरिन्।

दिनभर दुवै छोरा स्कूल जान्थे। कमला दिनभर आफ्नो काम गरेर बस्थिन्। अब भने उनी धेरै नै व्यस्त हुन थालिसकेकी थिइन्।

त्यति बेला प्रम अर्थात कपाल कर्ली गर्ने लहर चलेको थियो। दैनिक ८ देखि १० जना त्यसकै लागि उनी कहाँ आउने गर्थे।

कमलाको कपाल कर्ली गर्दा हातमा पञ्जा लगाउने बानी थिएन्। जसका कारण केमिकलले उनलाई हात पाक्ने समस्या सुरु भयो। पाकेका हातले कमलाले काम गर्न सकिनन्। उनले ग्राहकहरु आएर बसेको देख्दा–देख्दै हात पाकेको छ भनेर उनीहरुलाई नकार्न सकिनन्। उनले अब अर्को उपाय अपनाउन थालिलेको उनले बताइन्।

उनले भनिन्, ‘हात पाकेपछि मैले मलमलको कपडाले हातमा बाँधेर कपाल बेर्न थाले।’ यसरी काम गनेको देखेर ग्राहकले उनलाई भन्नथाले, ‘तपाईँ कपाल बेर्दिनुस्, पानी नछुनुस्, कपाल पखाल्न त हामी आफै सकिहाल्छौँ नि।’

उनले कहिल्यै पनि ऐया भन्ने मौका पाइनन्। उनका लागि काम भन्दा ठूलो अरु कुनै चिज थिएन्। उनी दिउँसो मात्र होइन, राति पनि काम गरेरै बस्ने गर्थिन्। दिउँसो प्रमका लागि चाहिने पेपर केलाएर तयार पार्ने गर्थिन्।

उनले नाम कमाउन थालिन्। सबैले उनलाई चिन्नथाले। आउनेहरुको लाइन लाग्न थाल्यो।

यति भइसकेपछि घरपरिवारले उनको हाई हाई गर्न थाले। सबैको प्रशंसा बटुल्न थालिन्।

कमलाले घर परिवारलाई गलत साबित गरेरै छोडिन्।

सहयोगी हातहरु


उनलाई घरमा सहयोग गर्ने गरेकी मिठ्ठू ढुगांनाले उनको काममा धेरै सहयोग गरे। कमलाले कपाल काटिरहँदा हेयर ड्रायर समाएर ग्राहकको कपाल सुकाइदिने काम गर्थे उनी। कहिले काँही त उनी ग्राहकको स्याम्पुसम्म पनि गरिदिन्थे।

उता भान्सामा खाना पकाउँथे सैलुनमा उनी कपाल सुकाइदिने, नुहाइनिने, काँइयो लगायतका समान यता उता गराइदिने काम गर्थे। कमलासँग यसरी काम गर्न उनलाई निकै खुशी लाग्थ्यो।

त्यसको केही समयपछि मिठ्ठुले बिहे गरेर श्रीमती ल्याए। अब मिठ्ठु मात्र होइन उनकी श्रीमतीले समेत कमलालाई सघाउन थालिन्।

मिठ्ठु उनकी श्रीमतीपछि कमलालाई सहयोग गरिन्, कोपिला मगरले। कोपिला कमलाको घर पुग्दा जम्मा सात वर्षकी थिइन्। उनलाई कमलाले सबै कुरा सिकाइन्।

काममा पोख्त बनाइन्। कोपिलाले कमलालाई १५ वर्षसम्म काममा सघाइन्। कमलाले उनलाई सधैँ आफूसँगै राख्न सकिनन् र कोपिलाको बिहे गरिदिइन्। अहिले कोपिलाले कमलाले सिकाएको सिपलाई नै अँगालेकी छन्।

नेपाल टेलिभिजनले उनको जीवनका ल्याएको परिर्वतन


२०४२ सालमा नेपाल टेलिभिजन सुरु भयो। टेलिभिजनमै कार्यरत रमा सिंह र रिता लिम्बुले कमलालाई घरपरिवार नामक एक कार्यक्रम चलाउन अनुरोध गरे। यो भन्दा अगाडि यस्तो काम उनले कहिल्यै गरेकी थिइनन्। के गर्ने कसरी गर्ने कमला दुविधामा परिन्।

थाइल्याण्ड हुँदा कमलाकी गुरुले टेलिभिजन सो मा लग्ने गरेकी थिइन्। त्यही समयमा कमलालाई कार्यक्रम कसरी चलाईन्छ भन्ने कुरा याद गरेकी थिइन्।

अब भने उनै याद गरेका कुरालाई उनले आफूमा लागु गरिन् र टेलिभिजन सुरु भएको एक हप्तापछि कार्यक्रम चलाउन सुरु गरिन्।

कार्यक्रम सुरु गर्दा सबै जान नयाँ थिए। उनीहरुलाई स्क्रिप्ट लेख्न आएन। तर पनि उनीहरुले मेहनत गरे। कार्यक्रम राम्रो हुँदै गयो। सबैले प्रशंसा गरे।

सुरुवात नेपाल टेलिभिजनबाट गरेकी कमलाको कार्यक्रम स्टालाइटबाट च्यानल नेपालबाट प्रसारण हुन थाल्यो। उनले त्यहाँ ५ वर्ष काम गरिन्।
उनले फेरी अर्को यात्रा तय गरिन्, च्यानल नेपाल छोडेर नेपाल वानमा। नेपाल वान नेपालमा मात्र नभएर इण्डियासम्म हेर्न मिल्थ्यो। टेलिभिजन मार्फत उनको राम्रो पब्लिसिटी भयो।

उनले नेपाल टेलिभिजन, च्यानल नेपाल, नेपाल वान लगायत इमेज टेलिभिजनमा श्रृङ्गार, न्यू लूक, द फ्राइडे न्यू यू लगायतका विभिन्न कार्यक्रम चलाउँदै २० वर्ष बिताइन्।

यस्ता कार्यक्रम चलाइरहँदा उनलाई धेरै प्रश्नहरु सोधिन थाले। उनले कुनै झर्को नमानी प्रत्येक प्रश्नहरुको उत्तर दिन थालिन्।
यो अनुभव भने अल्लि फरक रहेको उनी बताउँछिन्।

कार्यक्रमको प्रभाव


महिला मात्र होइन पुरुषहरु पनि यो कामप्रति आकर्षक भएको उनले देखिन्। जुन कुरा कमलाको सोचाई बाहिरको थियो। महिलाको आकर्षण देखेकी उनले पुरुषहरुले पनि इच्छा देखाउन थाल्दा उनी खुशी भइन्।

तर त्यो बेला नेपालको कुनै ट्रेनिङ्ग दिनका लागि स्कुल थिएन्। सबैको चाहानलाई बुझेर उनी टिचरको ट्रेनिङ्ग लिन फेरि थाइल्याण्ड गइन्।
नेपाल फर्केर उनले २८ वर्ष अगाडि यो व्यवसायलाई सिटिइभिटीमा सम्बन्धन गराएर ४ जना विद्यार्थीबाट पढाउन सुरु गरिन्।

पढाई सुरु गर्दा न कुनै किताब थियो, न त कुनै सामग्री नै थिए। तर पनि उनले कोशिस गरिरहिन्। विद्यार्थीको संख्या बढ्दै गयो। अहिले ट्रेनिङ्गको ५४ औँ ब्याच चलिरहेको उनले बताइन्।

बिर्सिनै नसकिने क्षण


कमला सधैँ उभिएरै काम गर्नु पर्छ। धेरै उभिरहने हँदा उनको पाठेघरमा समस्या भयो। चिकित्सकले उनको पाठेघर निकाल्नु पर्ने बताए। कमला सहमत भइन्।

उनी भन्छिन्, ‘हामी धेरै उभिएर काम गर्नु पर्छ, धेरै जसो यो पेसामा लागेका महिलाहरुमा यो समस्या देखिने गर्छ।’ अस्पतालबाट घर आएर उनी आराम गरेर बसिरहेकी थिइन्। त्यसै समयमा एकजना थाइल्याण्डकी महिला आइन् र थाई मसाज गर्न लगाइन्।

कमलाले आफ्नो शैलुनको नाम शयाम हो। शयामको अर्थ थाइल्याण्ड भएको उनी बताउँछिन्। उनी भन्छिन्, ‘थाइल्याडमा थाई मासज एकदमै प्रख्यात मानिन्छ, शयाम नाम देख्ने बित्तिकै उनी म कहाँ पसिन।’

कमलको एक स्टाफले उनको थाई मसाज गरिन्। तर ती महिला उनको मसाजबाट सन्तुष्ट भने भइनन्। उनी उठेरै जान खोजिन्। कमलाले उनलाई रोकिन। र आफैले मसाज सुरु गरिन्।

कमलाले आफ्नो पीडालाई दबाएर राखिन्। मसाज गर्दा गर्दै ती महिला निदाईन्।

कमला आफू बेहोस् भएको बताउँछिन्। कमलालाई उनका स्टाफले कुर्सीमा बोकेर कोठासम्म पुर्याए। उनी भन्छिन्, ‘त्यो बेला म सेन्सलेस नै भएकी थिएँ, मेरो इमेजको कुरा थियो, यदि मेरो एउटा क्लाइन्ट असन्तुष्ट भएर गयो भने त उसले अर्को अफबा फैलाउँछ नि।’

केमिकलको असरका कारण उनीको घाँटीमा समस्या भएपछि चिकित्सकले उनलाई ‘भ्वाइस रेष्ट’ गर्न भने। तर उनी विद्यार्थी नपढाई बस्न सक्दिनथिन्। चिकित्सकको सल्लाह अनुसार उनले विद्यार्थीलाई इसारा गरेर पढाउन थालिन्।

उनले पढाउँदा पढाउदै एक जना विद्यार्थी कक्षामै बेहोस भए। सबैले प्रेसर लो भयो भन्ने साचे। तर विद्यार्थी होसमा आउने बित्तिकै भने,‘म्याम तपाई कति दुःख गर्नु हुन्छ, बरु हामीलाई एक हप्ता बिदा दिनुस्, घरमै कसेर पढ्छौँ।’

बेहोस भएको विद्यार्थी उठेर भनेको त्यो कुरा र उसलाई उनले अहिलेसम्म पनि भुल्न सकेकी छैनन्।

उनीले आफू भित्रै लुकाएको पीडा


१७ वर्षका थिए उनी जब कमलालाई छोडेर कहिल्यै पनि नफर्किने गरि गए। बुढानिलकण्ठ स्कुलमा पढ्दै गरेका कान्छो छोरा स्कुलको छुट्टिमा घर आएका थिए। त्यो सयममा कमलाका श्रीमानले डेटौँडामा काम गरिरहेका थिए।

उनी आफ्नै गाडि लिएर घर आएका उनी हेटौँडा फर्किदा कान्छा छोरालाई सँगै लिएर जाँदै थिए। तर अफसोच थानकोटको घुम्तीमा गाडि दुर्घटनामा भयो। कमलाका श्रीमानको खातखुट्टामा चोट लाग्यो। तर छोराको भने दुर्घटना स्थलमै मृत्यु भयो।

अब कमलाले आफूलाई सम्हाल्न सकिनन्। छोराको बियाेगले उनलाई कमजोर बनाइरहेको थियो। तर कमलाका जेठा छोराले सधैँ उनलाई साथ दिए। उनलाई जेठो र कान्छो छोरा आफै भएको आभास उनलाई दिलाई रहे। जेठो छोरालाई हेरेर केहिहदसम्म चित्त बुझाउन थालिन्।
त्यही बेला कमलाका विरोधीहरुले टाउको उठाउन थाले। धेरैले भन्न थाले, ‘अब कमला माथि उठ्न सक्दिन।’

तर समयले उनलाई सबै कुरा सिकायो। उनको घाउमा उनको छोराले मलमपट्टि लगाउन थाले। उनले सोचिन्, काममा धेरै व्यस्त हुनु पर्छ जसले गर्दा उनलाई छोराको यादले सताउन कम गरोस्।

छोरा बितेको एक महिना पछि उनले इन्स्टिच्युड खोल्ने तरखर गरिन्। केही समय पछि इन्स्टिच्युड खोलिन् र पढाउन थालिन्। दिनभरी आफूलाई व्यस्त राखिन्। झन झन आफूलाई बलियो बनाउँदै गइन्।

सबै कुराले उनलाई पाठ सिकायो। उनी भन्छिन्, ‘कुनै पनि मानिस सुखमा मात्तिने र दुःखमा आत्तिने काम कहिल्यै पनि गर्नु हुँदै। त्यो समय म आत्तिएको भए अहिले मलाई कमला श्रेष्ठ भनेर कसले चिन्थ्यो होला त?’

कार्तिक २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्