नेपाल एक सय ५३ रनमा सिमित, फलो अनमा परे पनि एमसिसी ब्याटिङमा

काठमाडौँ –  इङ्ल्यान्डको मेरिलिबोन क्रिकेट क्लब-एमसिसीविरुद्धको प्रथम श्र‍ेणी क्रिकेटमा नेपालले खराब ब्याटिङ गरेको छ।

तीन दिवशीय खेलको दोस्रो दिन नेपालले पहिलो पालीमा सबै विकेट गुमाएर एक सय ५३ रन जोड्यो। नेपाल दुई सय ११ रनले पछाडि रहँदै फलो अनमा परे पनि एमसिसी आफैले दोस्रो पाली सुरु गर्ने निर्णय गरेको छ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले खाता खोल्न सकेनन्। शरद भेषावकर ४, राजु रिजाल ८, आरिफ शेख १० र दीपेन्द्र सिंह ऐरीले एक रन जोडेर आउट भए। सन्दीप लामिछानेले सर्वाधिक ३९ रन बनाए।  विनोद भन्डारीले ३६ र सोमपाल कामीले २६ रन जोडे।

त्यसअघि एमसिसी पहिलो पालीमा तीन सय ६४ रनमा समेटिएको थियो। एमसिसीका विल रोड्सले ७३ रन जोडे भने यासिर आराफात ६५ रनमा अविजित रहे। एमसिसीका अन्य दुई ब्याट्सम्यानले पनि अर्धसतकीय पाली खेले।

नेपालका सन्दीप लामिछाने र करन केसीले तीन तीन विकेट हात पारे। सोमपाल कामी र शरद भेषावकरको नाममा दुई दुई विकेट रह्यो।

कात्तिक २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्