नेकपाको माथिल्लो तहमा खिचातानी

ओलीबाट नेपाल झन एक्लिए, प्रचण्डलाई पार्टीको कार्यकारी नेतृत्व मिल्ने संकेत

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि विदेश जाने सम्भावना बढिरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा सञ्चालनको सक्रिय कार्यकारी नेतृत्वका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्राप्त हुने संकेत देखा परेको छ। यसअघि उपचारका लागि ओली सिंगापुरमा हुँदा दाहाललाई त्यही हैसियत प्राप्त भएको थियो ।

तर ओली स्वदेश फर्किएपछि आफ्ना पूर्व आश्वासन कार्यान्वयन नगर्ने मुडमा देखिएको भन्दै दाहाल र ओलीबीच दूरी बढेको सूचनाहरु आएका थिए। त्यो दाहालले सार्वजनिक कार्यक्रममा दिएका केही अभिव्यक्तिबाट पनि बुझिएको थियो ।

पार्टी उच्च स्रोतका अनुसार ओली फेरि उपचारका लागि विदेश जाने अड्कलबाजी भइरहँदा ओली र दाहालबीच निकटता बढेको मात्रै होइन दुवैजना पार्टीका अर्का वरिष्ठ नेता माधव नेपाललाई झन अलग्याउने या कमजोर बनाउने खेलमा लागेका छन् र केही हदसम्म सफल पनि देखिएका छन् उनीहरु।

हालै सात प्रदेशका प्रमुखहरुलाई वर्खास्त गरी नयाँ प्रदेश प्रमुखहरु नियुक्त गर्ने क्रममा ओली र दाहाबीच पूर्व एमाले र माओवादीका गरी चार र तीनका आधारमा बाँडफाँड गरिएको थियो।

नेकपा सचिवालय बैठकले प्रदेश एकमा सोमनाथ अधिकारी, प्रदेश २ मा तिलक परियार, प्रदेश तीनमा विष्णु प्रसाईँ, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश पाँचमा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदुरपश्चिममा  शर्मिला त्रिपाठीलाई नियुक्त गरेको थियो।

र, ओलीले दाहालप्रति देखाएको उदारता पूर्व एमाले र माओवादीबीच एकताका क्रममा भएका बाँडफाँड भन्दा ठूलो हो ।

त्यसबाट ओली र दाहाल अझै नेपाललाई नै एक्ल्याउने रणनीतिमा जुटेको स्रोतको भनाई छ।ओली र दाहाल मिलेको खण्डमा पार्टीको सचिवाल, स्थायी कमिटि र केन्द्रीय कमिटि र संसदमा समेत बहुमत जुट्छ ।

प्रदेश प्रमुखको नियुक्ति प्रक्रिलाई नेता नेपालले पार्टीमा फरक मत दर्ता गरेपनि त्यसबारेको छलफल ओली र दाहालले नै पन्छाएको बुझिएको छ। आफूले प्रस्ताव गरेका व्यक्तिलाई प्रदेश प्रमुख नबनाएर विधि, प्रक्रिया र संंस्थागतभन्दा पनि दुई अध्यक्षको मनोमानी ढंगबाट प्रदेश प्रमुखहरु नियुक्त भएको भन्दै नेपालले पार्टीमा फरक मतस्वरुप लिखित पत्र दर्ता गरेका थिए।

नेपालले यसअघि जनवर्गीय संगठन र विभागको नेतृत्व चयन, आफ्नो वरियता खस्किएको विषय,पार्टीका प्रदेश इन्चार्जको चयन, दोहोरो जिम्मेवारी, सरकारको कामकारवाही एवं राजनीतिक नियुक्ति लगायत विषयमा असहमति जनाउँदै पार्टीमा असहमति जनाएका थिए।

नेपालले विधि र प्रक्रियाका अनुसार काम गर्नु पर्ने माग पटकपटक उठाउन थालेपछि ओलीले उनलाई पूर्णरुपमा अलग्याएका छन् ।

गत भदौँमा उपचारका लागि ओली उपचारका लागि सिंगापुर जानु पहिले ओली र नेपालबीच भनाभना भएको थियो । त्यसपछि उनीहरुबीच राम्ररी बोलचाल समेत भएको छैन।

यता, प्रचण्डले भने नेपाललाई ओलीले एक्लाएको मौकामा ओलीको मन रिजाउने गरी काम गर्न थालेको र त्यसअनुसार सार्वजनिक अभिव्यक्ति दिन थालेको बुझिन्छ।

प्रचण्डका पुराना साथी एवं विश्वास पात्र बलात्कार प्रयसाको अभियोगमा हालै मात्र थुनामा गएका पूर्वसभामुख कृष्ण बहादुर महराविरुद्ध उनकै गृह जिल्लामा गएर अभिव्यक्ति दिनुले पनि ओलीलाई रिजाउने कोशिसमा उनी रहेको बुझिन्छ।

प्रत्यारोपण गरिएको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि यही कार्तिक १३ र १४ गते धापासीस्थित ग्राण्डी अस्पतालमा पुगेर डायलासिस गरेका प्रधानमन्त्री ओलीको उपचार विदेश हुने सम्भावना छ।

उनका निजी चिकित्सकले ओलीको स्वास्थ्य हाललाई स्थिर रहेको दाबी गरेपनि उनको उपचारबारे अमेरिका, भारत लगायत मुलुकका चिकित्सकसँग परामर्श गरिरहेका बेला ओली र दाहालबीच राजनीतिक निकट बढेको हो ।

‘ प्रचण्डले ओलीको आश्वासन कार्यान्वयन हुँदैन कि भन्ने चिन्ता अलि बढी थियो यो बिचमा । तर अहिले उनी र ओलीबीच अलि बढीनै छलफल भएका छन् र दाहालले पार्टीको कार्यकारी नेतृत्व पाउने गरी समिकरण भएको पाइन्छ,’स्रोतले भन्यो।

कार्तिक २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्