‘देशको सीमा मिचिँदा गाेर्खालीहरु चुप लागेर बस्दैनाैँ’

मोरङ – भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भूभाग समावेश गरिएको विरोधमा बिहीबार विराटनगरमा प्रदर्शन भएको छ।

स्वतन्त्र यूवा समूह नेपालले लिपुलेक र कालापानीलाई भारतीय नक्सामा समावेश गरिएको भन्दै विरोध प्रदर्शन गरेको हो। समूहले दिउँसो विराटनगर र भारतको जोगबनी सीमाक्षेत्रमा नेपाली भूभाग अतिक्रमण गरेकोमा विराेध जनाउँदै प्रर्दशन गरेको हो।

विज्ञापन

‘देशभरका सम्पूर्ण राष्ट्रभक्त युवा एकजुट होऔँ’ भन्ने नाराका साथ विरोध प्रर्दशनका क्रममा ‘गो ब्याक इण्डिया’ को नारा लगाइएको थियो।

प्रदर्शनपछि विराटनगर रानी बसपार्क नजिकै आयोजित कोणसभामा विद्यार्थी तथा युवा नेताहरुले नेपालको भू–भाग भारतीय नक्साबाट हटाउन माग गरेका छन्। युवाहरूले ‘सीमा मिचिँदा गोर्खालीहरू चुप लागेर नबस्ने चेतावनी दिए।

अनेरास्ववियुका केन्द्रीय सचिव वासिम आलमले नेपालीहरु मित्र राष्ट्रहरुसँग मित्रता राख्ने भएपनि अर्काको भूमि कब्जा गर्न खोज्नेविरुद्ध प्रतिवाद गर्ने बताए।

त्यसैगरि, स्वतन्त्र युवा समूहका अध्यक्ष मोहम्मद हमिद आजादले नेपाली भूमि कब्जा गर्ने दुष्प्रयास भइरहँदा सरकार कडा रुपमा प्रस्तुत हुन नसकेको गुनासो गरे।

नेपाली भूमिलाई भारतले आफ्नो नक्सामा समावेश गर्नु आपत्तिजनक रहेको बताउँदै आजादले आफ्नो भूमिका लागि नेपाली जनता जस्तो पनि मूल्य चुकाउन तयार रहेको चेतावनी दिएका थिए।

कार्तिक २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्