नेपाल लगातार तेस्रो खेलमा गोल बिहिन, म्यानमारसँग ३-० गोलले पराजित

काठमाडौँ- म्यानमारसँगको मैत्रिपुर्ण अन्तर्राष्ट्रिय फुटबलमा नेपाल ३-० गोलले पराजित भएको छ। म्यानमारमा बिहीबार साँझ सम्पन्न भएको खेलमा नेपाल पुन एकपटक गोल गर्न असफल भयो।

नेपाल लगातार तेस्रो खेलमा गोल गर्न असफल भएको हो। नेपाल अघिल्ला दुई खेलमा विश्वकप छनोटअन्तर्गत जोर्डनसँग ३-० र अस्ट्रेलियासँग ५-० गोलले पराजित भएको थियो। म्यानमारले तेस्रो, पहिलो हाफको इन्जुरी समय र ७० औँ मिनेटमा गोल गरेको थियो।

विज्ञापन

सन् २०१९ मा नेपाली टोलीले ९ वटा अन्तर्राष्ट्रिय खेल खेलेको छ। यी खेलमा ५ वटा मैत्रिपुर्ण र चार वटा प्रतियोगितात्मक रहेका छन्। नेपालले ६ खेलमा हार व्‍यहोर्‍यो। दुई खेल बराबरी भए। एक खेलमा नेपाल विजयी भयो।

पछिल्लो समय नेपालले सन् २०२२ को कतार विश्वकपको लागि एसियाली छनोट खेलिरहेको छ। दोस्रो चरणको प्रतियोगितामा नेपालले चार खेल खेलिसकेको छ। यीमध्ये तीन वटामा हार ब्यहोर्‍यो। चाइनिज ताइपेइको मैदानमा भएको खेलमा नेपाली टोली २-० गोलले विजयी भयो।

प्रतियोगिताका बाँकी खेलहरु नेपालले अब घरेलु मैदानमा खेल्दै छ। त्यसको तयारीका लागि बिहीबार साँझ म्यानमारसँग खेलेको थियो।

नेपालले सन् २०१६ यता मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा जित हात पार्न सकेको छैन। नेपालले अन्तिमपटक जित हात पारेको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा मालदिभ्सलाई ४-१ गोलले हराएको थियो। यसबीचमा नेपालले खेलेका ६ वटा मैत्रीपूर्ण खेलमा तीन हार र तीन बराबरीको नतिजा निकालेको थियो। यी खेलमा नेपालले केवल दुई गोल मात्र गरेको थियो।

 

कार्तिक २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्