धानमा फौजी कीराको आतंक

१५ प्रतिशत धान उत्पादनमा कमी आउने

नेपालगञ्‍ज-बाँकेमा यसपाली १५ प्रतिशतसम्म धान उत्पादनमा कमी आउने भएको छ। पाकेको र पाक्दै गरेको धानलाई फौजी किराले नोक्सानी पुर्‍याएकाले उत्पादनमा १५ प्रतिशतसम्म कमी आउने भएको हो।

कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले फौजी किराले १० हजार हेक्टरको धानमा नोक्सानी पुर्‍याएकाले उत्पादनमा १५ प्रतिशतसम्म कमी आउने आकलन गरे।

विज्ञापन

‘फौजी किराबाट १७ हजार हेक्टरको धान प्रभावित भएको छ। तर, पालिकाहरुले लिखित पठाएको निवेदन अनुसार १० हजार हेक्टरको धानमा बढी क्षति पुर्‍याएको छ, कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले भने, ‘१० हजार हेक्टरमा २५ प्रतिशतदेखि माथि क्षति पुर्‍याएको छ। कही कही त शतप्रतिशत नै क्षति पुगेको छ। समग्रमा १० हजार हेक्टरको ४० प्रतिशत नोक्सानी हुने देखिन्छ।’

बाँकेमा ३६ हजार पाँच सय हेक्टरमा धान खेती हुँदै आएको छ।बाँके खाद्यान्‍नमा आत्मनिर्भर जिल्ला हो। भलै, २०७१ सालमा ठूलो बाढी आउदा परनिर्भर भएको थियो।

१५ प्रतिशत धान उत्पादनमा कमी आउदा बाँके खाद्यान्नमा आत्मनिर्भर भइरहन्छ ? कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले खाद्यान्‍न भन्‍नाले धान, गहुँ, मकैलगायत पर्ने भएकाले सबैको उत्पादन जोड्नु पर्ने बताए।

बाँकेमा गतवर्ष धान उत्पादनमा ८ प्रतिशत बढेको थियो। जिल्लामा प्रतिहेक्टर ४० क्वीन्टल धान उत्पादन हुने गर्दछ। एक कठ्ठामा औसत एक क्वीन्टल ३३ किलो धान फल्छ। उत्पादनको हिसावले यो त्यति राम्रो होइन।

उत्पादन राम्रो नहुनुमा सिंचाई, मल, बिउ जोडिन्छ। जिल्लामा आकाशेपानीको भरमा खेती हुने गर्दछ। मल र बिउको समस्या वर्षेनी देखिन्छ। सीमावर्ती जिल्ला भएकाले अन्यत्र भन्दा यहाँका किसानले मलखाद्य भारतबाट ल्याउने गर्दछन्।

बहुप्रतिक्षित सिक्टा सिंचाई आयोजना समयमै सम्पन्‍न नहुँदा जिल्लाका किसानले पानीको समस्या झेल्दै आएका छन्। ४२ हजार हेक्टर क्षेत्रफललाई समेट्ने सिक्टाको समापन मिति पर पर सर्दै गर्दा किसान मर्कामा परेका छन्।

आकाशेपानीको भरमा जेनतेन रोपाई गरेका किसानलाई पाकिसकेपछि र पाक्ने बेलाको धानमा फौजी किराले नोक्सानी पुर्‍याइदिएपछि ठूलो चिन्ता थपिदिएको हो। कृषि ज्ञान केन्द्रका प्रमुख ढकालका अनुसार, फौजी किराले शुरुवाती चरणमा पुर्‍याएको क्षतिलाई हेर्दा त ३० प्रतिशतसम्म उत्पादनमा कमी आउने आकलन गरिएको थियो। पछि त्यति धेरै नोक्सानी भएन।

जिल्लाका किसानले फौजी किरा पीडित संघर्ष समिति नै बनाएर लागत अनुसारको क्षतिपूर्तिका लागि आन्दोलन गरिरहेका छन्। फौजी किरा पीडित किसानले स्थानीय प्रशासन, सम्बद्ध निकायदेखि मुख्यमन्त्रीसम्मलाई ज्ञापनपत्र बुझाइसकेका छन्।

५ नम्बर प्रदेशकी कृषिमन्त्री आरती पौडेलले यकिन तथ्यांक आइसकेपछि फौजी किरा पीडित किसानलाई लागत क्षतिपूर्ति उपलब्ध गराउने आश्वासन दिइसकेकी छन्।

कार्तिक २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू