सहयोगी विकास बैँकका सञ्चालक सदस्य जेल चलान

जनकपुरधाम– ठगी आरोपमा पक्राउ परेका सहयोगी विकास बैंक लिमिटेड जनकपुरधामका सञ्चालक समितिका सदस्य दिपेन्द्रकुमार यादव ‘दिपु’ लाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

जिल्ला अदालतत धनुषाले जग्गा जालसाजी तथा ठगी गरी बिक्री गरेको अभियोगमा आरोपित दिपुलाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।

विज्ञापन

जिल्ला अदालत धनुषाले दिपुलाई पुर्पक्षका लागि जेल चलान गरेको अदालतका श्रेस्तेदार यज्ञप्रसाद आचार्यले जानकारी दिए । दिपुले गत असोज २९ गते जिल्ला प्रहरी कार्यालय धनुषामा गएर आत्मसमर्पण गरेका थिए ।

घटना यस्तो थियो

बैंकबाट कर्जा लिन राखेको धितो जग्गा जालसाजी तथा ठगी गरी बिक्री गरेको अभियोगमा धनुषा जिल्ला अदालतले गत साउनमा दिपुलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको थियो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० बस्ने लालबाबु रौनियारले करिब ८ वर्ष पहिले महोत्तरी जिल्लाको बर्दिवासमा रहेको ५ कठ्ठा जग्गा जनकपुरस्थित सहयोगी विकास बैंकमा धितो राखी ५० लाख रुपैयाँ ऋण लिएका थिए ।

तर केही वर्षपछि सो ऋण चुक्ता गरी पीडित लालबाबु रौनियारले सो जग्गा फिर्ता लिनका लागि बैंकलाई ७३ लाख रुपैयाँ भुक्तानी गर्दा पनि जग्गा फिर्ता नपाएपछि पीडितले ६ वर्ष पहिले बैंकका सञ्चालक यादव माथि जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेका थिए ।

पीडित रौनियारले ऋण लिन राखेको धितोलाई सञ्चालकले २ करोड ७० लाख रुपैयाँमा बेचेका थिए । पीडितले बैंकमा गएर जग्गा फिर्ता गरिदिन गुहार गरेतापनि फिर्ता नदिएपछि रौनियारले अदालतमा मुद्दा दायर गरेका थिए ।

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्