बम पड्काएको आरोपमा पोखराबाट एकजना पक्राउ

साङ्केतिक तस्बिर

पोखरा – आसन्न उपनिर्वाचन कार्यक्रमलाई प्रभावित हुने गतिविधिमा संलग्न भएको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन गण्डक ब्यूरो सदस्य विनोद सोनाम पक्राउ परेका छन् ।

आगामी मंसिर १४ गते कास्की २ को प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन कार्यक्रमका लागि बिहीबार मनोनयनदर्ताको समय चलिरहँदा पोखराको पर्यटन बसपार्क क्षेत्रभित्र ठूलो आवाजमा बिस्फोटक पदार्थ पड्किएको थियो ।

उक्त घटनामा संलग्न रहेको आंशकामा अनुसन्धानका लागि सोनामलाई हिरासतमा राखिएको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी राजकुमार केसीले जानकारी दिए ।

स्याङ्जा घर भएका उनलाई प्रहरीले गएराति पोखरा १६ दीप जोगमणिमार्गस्थित डेराकोठाबाट नियन्त्रणमा लिएको थियो ।

जिल्ला निर्वाचन कार्यालय कास्की र बिस्फोटक पदार्थ पड्किएको ठाउँ करिब २ सय मिटर अन्तरमा छ । घटनापश्चात्त तत्काल सुरक्षा सतर्कता बढाई कास्की प्रहरीले घटनाको छानबिन थालेको थियो ।

सोनाम केही समयअघि मात्रै विप्लव समूह परित्याग गरेको घोषणा गरेका थिए । उनीउपर थप अनुसन्धान भइरहेको र अन्य संलग्न व्यक्तिहरुको खोजी गरिरहेको कास्की प्रहरीले जनाएको छ ।

कात्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्